• गृहपृष्ठ
  • शहीद स्मारक ए डिभिजन लिग: मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो

शहीद स्मारक ए डिभिजन लिग: मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो

Dec 25th, 2019

काठमाडौँ, पुस ९ (रासस)

शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ । यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १–१ को बराबरीमा खेलेको थियो ।

मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक÷एक गोल गरे । खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गर्नुभएको थियो ।

त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गर्नुभयो । कप्तान विराज महर्जनको ब्याक पासमा उहाँले गोल गर्नुभएको थियो । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिलाउनुभयो । पराजित फ्रेन्डसले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो । खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिनुभयो ।