सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

Dec 25th, 2019

काठमाडौं, पुस ९

सप्तरी र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

सप्तरी, रुपनी गाउँपालिका ६ बीरेन्द्रबजार नजिक स.१ ज १३८१ नम्बरको जिपले स.१० प ८२५ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको युनिक अस्पताल रुपनी हुँदै सगरमाथा अंचल अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरी, सुरुङ्गा नगरपालिका ४ कदमाहस्थित सडकमा ना।३ ख १२६९ नम्बरको बसले ना.६५ प ९०४५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर पतार गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय अरुण प्रसाद साहको राउ स्मारक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सिरहा लक्ष्मीपुर पतार गाउँपालिका २ बस्ने १८ वर्षीया कल्पना कुमारीको सप्तऋषि अस्पताल लहान सिरहामा उपचार भइरहेको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रुपन्देही, रोहिणी गाउँपालिका ३ रामनगरस्थित सडकमा ना.५ च ५८१ नम्बरको जिपले लु.५१ प ९५५३ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रोहिणी गाउँपालिका ३ बस्ने ४२ वर्षीय बृजकिशोर प्रसाद गुप्ताको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।