नेपालद्वारा भूटान पराजित

Dec 23rd, 2019

काठमाडौँ, ७ पुस (रासस)

नेपाली राष्ट्रिय पन्ध्र वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भूटानको यु –१५ महिला टोलीलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन् । उनले १२, ४८ र ५४ औँ मिनेटमा तीन गोल गरिन ।

यस्तै कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल थपिन । प्रितिले खेलको ४४, ८९औँ मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौ मिनेटमा गोल गरिन । भूटानकी कप्तान डिकी लाजोमले खेलको १४औँ मिनेटमा एक गोल फर्काएकी थिइन् । अव नेपालले बुधबार भूटानसँग भोलि दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

थ्री स्टारद्वारा पुलिस पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्री स्टार क्लबले पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

थ्री स्टारको जितमा सुशील राईले निर्णायक गोल गरे । उनले खेलको ८४औँ मिनेटमा सुशन श्रेष्ठको क्रसमा गोल गरेका थिए । जितसँगै थ्री स्टारले दुई खेलमा चार अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लको छ ।

त्यस्तै ६ अङ्क जोडेको मनाङ मस्र्याङ्दी क्लब अङ्क तालिकाको शीर्ष स्थानमा छ । पहिलो खेलमा थ्री स्टार जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यता पुलिसको भने यो पहिलो हार हो । पहिलो खेलमा पुलिस हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले यस खेलको नतिजामा आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै पुलिसका प्रशिक्षक अनन्त थापाले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य बनेको बताउनुभयो । खेलमा थ्री स्टारका सुशील राई म्यान अफ द म्याच घोषित भए ।