• गृहपृष्ठ
  • लोकसेवा आयोगलाई संकुचित नपार्ने सरकारद्धारा स्पष्ट

लोकसेवा आयोगलाई संकुचित नपार्ने सरकारद्धारा स्पष्ट

Dec 23rd, 2019

काठमाडौं, ७ पुष

लोकसेवा आयोगलाई बन्देज लगाउने तथा सङ्कुचित बनाउने परिस्थिति आउन नदिन सरकार गम्भिर रहेकामा सरकारका मन्त्रीले जोड दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले लोक सेवा आयोगको विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने परिस्थिति सिर्जना नगर्ने स्पष्ट पारेका हुन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो वताएका हुन् । उनले बदलिएको परिस्थितिमा पनि आयोगले प्राप्त गरिरहेको विश्वासमा कुनै कमी आउन दिनुहुन्न भन्नेमा सरकार पूर्ण सचेत रहेको दावी गरे ।

बैठकमा सांसद रेखा शर्मा, जनार्दन शर्मा, महेश्वरजङ्ग गहतराजलगायतले निष्पक्ष परीक्षा गरी आम जनताको विश्वास कमाएको आयोगले आफ्ना खर्च सरकारलाई देखाउनुपर्छ भन्ने प्रावधान राख्न खोज्दा किन आपत्ति भएको हो भनी प्रश्न गरेका थिए । समितिमा केही दिनदेखि उक्त विधेयकमाथि छलफल भैरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत अघि बढाइएको उक्त विधेयकका सम्बन्धमा प्रधानमन्त्रीकातर्फबाट मन्त्री ढकाल ले जवाफ दिएका हुन् ।