• गृहपृष्ठ
  • सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा तय

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ मा तय

Dec 22nd, 2019

–प्रकाश सिलवाल
काठमाडौँ, ६ पुस (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक यही पुस २३ गतेदेखि काठमाडौँमा गर्ने निर्णय भएको छ । गत २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हुनेछ ।

पार्टीभित्र बैठक, भेला र साङ्गठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको स्थायी कमिटी बैठकले एकीककरणका काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकेको हो । केन्द्रीय कमिटीका ४४५ जना छन् । केन्द्रीय कमिटीको बैठक अगाडि नै १५ दिनभित्र पार्टी एकीकरणका बाँकी साङ्गठानिक कामहरू ९आयोग तथा केन्द्रीय निकाय, विभाग र जनसङ्गठन० पूरा गरिसक्नेसमेत स्थायी कमिटीको बैठकले आज निर्देशन दिएको छ ।

राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित

नेकपाको स्थायी कमिटीको चौथो बैठक २०७६ मङ्सिर २९ गते शुरु भई आज सम्पन्न भएको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सम्पन्न बैठकले अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बैठकमा व्यापक छलफल र विमर्शपछि प्राप्त विचार, सुझाव र धारणाको सम्बोधन हुने गरी प्रतिवेदनमा आवश्यक परिमार्जन गर्ने गरी सर्वसम्मतिले परिमार्जनसहित पारित भएको छ ।

बैठकले महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाव र धारणाका आधारमा अन्तिम रुप दिई आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने गरी पारित गरेको छ । विधान संशोधन प्रस्तावमा प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ भने पार्टीमा उपाध्यक्ष पद सिर्जना गरी नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ ।

अमेरिकी सहयोग कर्पोरेसनलाई स्वीकार गर्ने, नगर्ने विषयमा स्थायी कमिटीमा छलफल भए पनि उक्त सहयोग हिन्द प्रशान्त रणनीतिमा आवद्ध नभएमा स्वीकार गर्न सकिने र यसबारे सचिवालयले निर्णय गर्न स्थायी कमिटीले कार्यादेश दिएको छ ।

सीमा विवाद : भारतीय नक्शा अमान्य

हालै लिम्पियाधुरा उद्गमस्थल रहेको कालीनदी पूर्वको नेपाली भू–भागसमेत समावेश गरेर भारतले प्रकाशित गरेको राजनीतिक नक्शालाई बैठकले अस्वीकार र अमान्य घोषणा गरेको छ । नेपालीे भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमणप्रति बैठकले गम्भीर ध्यानाकर्षण जनाउँदै अतिक्रमित भू–भाग फिर्ता गर्न, त्यहाँ तैनाथ भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविर हटाउन आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।

नेपाल–भारत समस्याका सम्बन्धमा विगतमा परराष्ट्र सचिवस्तरीय संयन्त्रमा छलफल गरी समस्या समाधान गर्ने सहमति र प्रयास भइरहेकामा त्यस विपरीत प्रकाशित नक्शा आपत्तिजनक रहेको बैठकले ठहर गरेको छ । यस समस्याको छिटो समाधान गर्न आवश्यक कूटनीतिक र राजनीतिक प्रयास हुनुपर्नेमा बैठकले जोड दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“यस सन्दर्भमा नेपाल सरकारले लिएको अडान, सबै राजनीतिक दल, सङ्घ–संस्था र सरोकारवालासँग गरेको सर्वपक्षीय तथा सर्वदलीय बैठकको आयोजना र त्यसमार्फत् सिङ्गो देशको एउटै दृष्टिकोण, धारणा तथा अडान बनाउन गरेको पहललाई बैठकले उचित कदमका रूपमा लिएको छ । यसरी सिङ्गो राष्ट्रको साझा अडान बनाउन सहयोगी भूमिका खेल्ने सबै राजनीतिक दल र पक्षलाई बैठकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बैठकले पार्टी केन्द्रीय कार्यालय भवन अविलम्ब निर्माण गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न स्थानमा सिमाना र दसगजा मिचिएको तथा नेपालले आफ्नो भू–भागमा गर्न लागेका निर्माण कार्यमासमेत भारतीय पक्षबाट अवरोध सिर्जना भएकाले यस विषयमा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीलाई एकताबद्ध बनाउन अध्यक्ष दाहालको आग्रह

बैठकमा समापन मन्तव्य राख्दै अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध गर्न, साङ्गठनिक एकीकरणलाई पूर्णता प्रदान गर्न, विचारको बहस र विकासलाई व्यवस्थित गर्न, सरकार सञ्चालनलाई प्रभावकारी बनाउन तथा हरहिसाबले पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योगदान पुगेको धारणा राख्नुभयो ।

उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अस्वस्थताका कारण अनुपस्थित भएर पनि बैठक सफल पार्न राजनीतिक प्रतिवेदनको तयारीलगायत महत्वपूर्ण निर्णय प्रक्रिया एवं बैठक सञ्चालन र निष्कर्षमा पुग्न गर्नुभएको योगदानका निम्ति विशेष धन्यवाद ज्ञापन गर्नुभयो । बैठकले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ छिट्टै पूर्ण स्वस्थ भएर पूर्ववत् नियमित काममा फर्कनुहुने विश्वास व्यक्त गरेको छ ।

सवारी दुर्घटनाको दीगो समाधान खोज्न आग्रह

मुलुकका विभिन्न भू–भागमा विगत केही समययता भएका पटक–पटकका सडक दुर्घटनाबाट ठूलो जनधनको क्षति भएकाप्रति अत्यन्त दुःखित र चिन्तित भएको उल्लेख गर्दै वर्षेनी हुने ठूलो जनधनको क्षति न्यून गर्न र यस समस्याको दिगो समाधानका लागि आवश्यक कार्य अगाडि बढाउन, सडक पूर्वाधारमा प्रभावकारी सुधार गर्न, सवारी चालक र सवारी धनीलगायत सम्बन्धितलाई जिम्मेवार बनाउन, पुराना सवारी साधनको नियमन गर्न तथा सडक सुरक्षा र अनुशासनको कडाइका साथ पालना गर्ने विषयमा ठोस् कदम चाल्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।

सडक दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि अर्पण, शोकाकुल परिवारप्रति समवेदना एवं राहत प्रदान गर्न र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैठकले घाइतेको उपचारको प्रबन्ध गर्न र दुर्घटनामा अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा जीवनयापनको व्यवस्था गर्न पनि माग गरेको छ ।

यसैगरी, तराईका विभिन्न जिल्लामा शुरु भएको शीतलहरले विपन्न वर्गका नागरिकलाई ठूलो समस्या एवं मर्कामा पारेको कुरालाई ध्यानमा राखेर विपन्नलाई न्यानो लुगा र दाउरा वितरण गर्न, घरबारबिहीनलाई जनता आवास कार्यक्रम अन्तर्गत आवास उपलब्ध गराउन तथा समस्याको दीर्घकालीन समाधान खोज्न बैठकले माग गरेको छ ।