• गृहपृष्ठ
  • महिला तथा बालबालिका हराउने क्रम बढ्दै, किन बेखबर छ सरकार ?

महिला तथा बालबालिका हराउने क्रम बढ्दै, किन बेखबर छ सरकार ?

Dec 22nd, 2019

काठमाडौं ६ पुष

पछिल्लो समय महिला तथा बालबालिका बेपत्ता हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ३ वर्षको अवधिमा ३४ हजार ४ सय जना बेपत्ता भएका छन् ।

प्रहरी कार्यालयमा दर्ता भएको उजुरीको आधारमा सो तथ्याकं दिइएको हो । यसबाहेक दर्ता नभएका घटना अरु पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

हराएका मध्ये ११ हजार २३ जना फेला परेका छन् । प्रहरी र आफन्तको खोजीमा उनीहरु फेला परेपनि अझै ३४ हजार ४ सय बेपत्ता छन् ।

तथ्याङ्क अनुसार, बेपत्ता हुनेमा सबैभन्दा बढी महिला तथा बालबालिका छन् । आर्थिक बर्ष २०७३÷७४ मा ७ हजार २ सय ७९ जना बालबालिका हराएका थिए । त्यसमध्ये १ अजार ६ सय १३ जना मात्र फेला परे ।

त्यस्तै आर्थिक बर्ष २०७४र७५ मा यो संख्या झनै बढ्यो । ८ हजार २ सय ७७ हराएका बालबालिका मध्ये १ हजार ८ सय १९ जना मात्र फेला परे । गत आर्थिक बर्ष अर्थात २०७५/७६ मा हराउने बालबालिकाको संख्या ११ हजार १ सय ५३ पुग्यो । त्यसमध्ये ३ हजार ३ सय ७ जना फेला परे ।

हराउनेमा बालबालिका मात्र होइन । महिलाको संख्या पनि उस्तै छ । आर्थिक बर्ष २०७३/७४ मा ३ हजार ३ सय ३२ जना हराएकोमा ७ सय ३९ जना फेला परेका छन् । त्यस्तै २०७४/७५ मा ४ हजार २ सय ६१ जना महिला हराएका थिए । त्यसमध्ये ८ सय ५ जना मात्र फेला परे ।

२०७५र७६मा यो संख्या बढेर हराउने महिला ५ हजार ८ सय ५२ जनाको उजुरी प्रहरी कार्यालयमा दर्ता भयो । जसमध्ये १ हजार ५ सय ५ जना मात्र फेला परे । समग्रमा हेर्दा पछिल्लो ३ बर्षमा मात्र १९ हजार ९ सय ७० जना बालबालिका बेपत्ता छन् । त्यसैगरी ११ हजार १ सय २१ जना महिला बेपत्ता छन् । त्यसैगरी बेपत्ता हुने पुरुषको संख्या ४ हजार ६४ छ ।

हराएका लाई खोज्नु चुनौतिपूर्ण

दिनहुँ जस्तो व्यक्ति हराउन थालेपछि कहाँ कसरी र किन हराउँछन भन्ने विषय प्रहरीका लागि चुनौतिपूर्ण बन्दै गएको छ ।

विभिन्न महत्वकांक्षाका कारण परिवारलाई थाहै नदिई घर छाड्नेदेखि आर्थिक प्रलोभनमा परी विभिन्न दलालको फन्दामा पर्नेसम्मका उजुरी परेका छन् ।

यसरी बेपत्ता भएकाहरु भने कहाँ जान्छन्, के गर्छन भन्ने बारेमा भने प्रहरी नै वेखवर छ ।

त्यस्तै सरकारले पनि बेपत्ता नागरिक खोज्ने उचित काम गरेको देखिँदैन भने हराउनुको कारण खोज्न कुनै अध्ययन पनि गरेको पाइँदैन ।