भ्याटले साना यातायात व्यवसायी मारमा

Dec 22nd, 2019

निजगढ, ६ पुस (रासस)

बाराका साना तथा ठूला मालवाहक यातायात व्यवसायीहरु मूल्य अभिवृद्धि कर(भ्याट)मा दर्ता नहुँदा सामान ओसारपसारमा समस्या आएको छ । सरकारले यही पुस १ गतेदेखि ढुवानी भाडामा अनिवार्य भ्याट लागू गरेपछि यातायात व्यवसायीहरुले सामान लोड अनलोड नगर्दा समस्या सिर्जना भएको हो । सरकारले ऐन संशोधनमार्फत चालू आर्थिक वर्षदेखि नै साना तथा ठूला मालवाहक सवारी साधनमा भ्याट अनिवार्य लगाउने निर्णय गरेको थियो ।

यस क्षेत्रबाट दैनिक करिब एक हजारको हाराहारीमा लोड हुने गरेका मालवाहक सवारी साधन अहिले करिब सयवटामात्र लोड हुने गरेको यातायात व्यवसायी खडकप्रसाद मैनालीले बताउनुभयो । भ्याट तथा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता नभएका सवारी साधनहरुलाई मालवाहक सामान ओसारपसारमा रोक लगाउने निर्णय गर्नाका साथै भाडा भुक्तानी नगर्न निर्देशन दिएपछि मालवाहक सवारी साधनमा सामान लोड अनलोड नभएको मैनालीको भनाइ छ ।

सरकारले सहजीकरण गरिदिए आफूहरु कर तिर्न तयार रहेको यातायात व्यावसायी मैनालीले बताउनुभयो । भ्याटमा जाने प्रक्रियामा साना यातायात व्यवसायीहरुलाई महासङ्घले कुनै जानकारी नगराएका कारण आफूहरु मारमा परेको स्वतन्त्र चालक समाज नेपालका अध्यक्ष वसन्त शर्माले गुनासो गर्नुभयो । मालवाहक सवारी साधनमा भ्याट लगाउँदा ठूला सवारी साधनलाई असर नपरे पनि आफूहरु निकै मारमा परेको शर्माको भनाइ छ ।

अधिकांश यातायात व्यवसायी सामान्य लेखपढ गर्न नसक्ने भएका कारणसमेत भ्याट कसरी काट्ने तथा खुद्रा वस्तुको बिलिङ कसरी गर्ने भन्ने विषयमा समस्या आउने शर्माको भनाइ छ ।

हाल देशभर २४ वटा मालवाहक यातायात व्यावसायी सङ्घ रहेका छन् भने ती सङ्घमा करिब ६५ हजारभन्दा बढी यातायात व्यवसायीहरु आबद्ध रहेका छन् । उनीहरुले पटक पटक सरकारसँग भ्याट लागू गर्ने विषयमा छलफल गरेको बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले मध्यमार्गी बाटो खोजेर सुरक्षित अवतरण गर्ने बताए पनि सहजता प्रदान गर्न नसकेको भन्दै उनीहरुले पटक पटक आन्दोलनका कार्यक्रमहरुसमेत गरिरहेका छन् ।

रु पाँच करोड राजश्व

प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पाँच महिनामा रु चार करोड ८३ लाख ९२ हजार ५०० राजश्व सङ्कलन गरेको छ । आव २०७६/७७ को साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा ट्रक, बस, कार/जीप/भ्यान, ट्र्याक्टर, मोटरसाइकल र टेम्पोलगायत ७७ हजार ९५१ वटा साना तथा ठूला सवारी साधनलाई कार्वाही गरी रु चार करोड ८३ लाख ९२ हजार ५०० राजश्व सङ्कलन गरेको प्रदेश नं २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथथैयाका ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले बताउनुभयो ।

चालु आवको पाँच महिनामा २६ हजार ६०६ वटा ट्रकलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै ट्राफिक प्रहरीले गरेको कार्वाहीमा रु एक करोड ८३ लाख ३३ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । त्यसैगरी चालु आवको पाँच महिनामा ६ हजार ६०५ वटा बसलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै ट्राफिक प्रहरीले गरेको कार्वाहीमा रु ४१ लाख ३१ हजार ५०० राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । कार/जीप/भ्यान नौ हजार ३४३ वटा कार्वाहीमा परेका छन् । ती सवारी साधनबाट रु ५२ लाख ४८ हजार राजश्व सङ्कलन भएको छ । चार हजार ५०६ ट्र्याक्टरबाट रु २५ लाख ९१ हजार, २६ हजार ४५८ मोटरसाइकलबाट रु एक करोड ५४ लाख ९५ हजार ५०० र चार हजार ४३३ टेम्पोबाट रु २५ लाख ९३ हजार राजश्व सङ्कलन गरेको छ ।

साथै चालू आवको पाँच महिनामा प्रदेश नं २ का आठ जिल्लामध्ये सप्तरीमा नौ हजार ६०८ सवारी साधनलाई ट्राफिक नियम विपरीत सञ्चालन भएको भन्दै गरिएको कारवाहीमा ५५ लाख ८१ हजार, सिरहामा १३ हजार ४०० सवारी साधनबाट रु ७७ लाख २४ हजार ५००, धनुषामा १० हजार ८३७ सवारी साधनबाट रु ७० लाख २२ हजार, महोत्तरीमा छ हजार ९६८ सवारी साधनबाट रु ४५ लाख ४२ हजार, सर्लाहीमा नौ हजार ६८ सवारी साधनबाट रु ६२ लाख ६४ हजार, रौतहटमा सात हजार ८६८ सवारी साधनबाट रु ४७ लाख ५० हजार ५००, पर्सामा सात हजार २०० सवारी साधनबाट रु ४३ लाख ४१ हजार राजश्व सङ्कलन हुनाका साथै प्रदेश ट्राफिक प्रहरी कार्यालयसमेत रहेको जिल्ला बारामा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले १३ हजार दुईवटा सवारीसाधनलाई कार्वाही गर्दा रु ८१ लाख ६७ हजार ५०० राजश्व सङ्कलन गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रदेश नं २ का सबै जिल्लामा ट्राफिक व्यवस्थापनमा निकै सुधार आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख तथा ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पालले बताउनुभयो । जनशक्ति अभावमा पनि आफूहरुले सकेको काम गरिरहेको ट्राफिक प्रहरी प्रमुख पालको भनाइ थियो ।