• गृहपृष्ठ
  • विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष शाही दम्पतीको अपहरण

विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष शाही दम्पतीको अपहरण

Dec 22nd, 2019

दैलेख, ६ पुस (रासस)

जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उहाँकी धर्मपत्नी इलामल्ल शाहीलाई नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका छन् । ठाटीकाँध गाउँपालिका–२ श्रीपाटामा रहेको घरबाट राति १२ बजे शाही दम्पती अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हरिबहादुर वलीले अपहरणमा परेको खबर आएको र त्यसका लागि प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

वडा नं १ का वडाध्यक्ष नर्तमबहादुर बुढाका अनुसार राति १५ जनाको टोली आएर अपहरण गरेको भन्ने सुनेर स्थानीय आफन्त र अन्य टोली खोजीकार्यमा लागेको बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष सुस्मीता शाहीले भने घटनाको बारेमा आफूलाई प्रहरीले जानकारी दिएको उल्लेख गर्नुभयो ।

यसैबीच अध्यक्षसहित अपहरणमा परेकी उहाँकी श्रीमती इलामल्ल शाही दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्ने बताहालेकमा भेटिनुभएको स्थानीयवासीले बताएका छन् । अपहरणको सूचना पाएलगत्तै स्थानीयले खोजी गर्न हिँडेको टोलीले दैलेख र कालिकोट पर्ने बताहालेकमा बिहान ९ बजे फेला पारेको सूचना आफूलाई प्राप्त भएको वडाध्यक्ष बुढाले बताउनुभयो । अध्यक्षको अवस्था भने अझै अज्ञात रहेको उहाँले बताउनुभयो ।