• गृहपृष्ठ
  • नीजि गाडी आफै कुदाएर छड्के अनुगमन गर्दै मन्त्री नेम्बाङ

नीजि गाडी आफै कुदाएर छड्के अनुगमन गर्दै मन्त्री नेम्बाङ

Dec 22nd, 2019

काठमाडौ, पुस ६

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सडक मर्मत कार्यको छड्के अनुगमन गर्नु भएको छ । माइतीघरदेखि तीनकुनेसम्म मर्मत भईरहेका सडकको शनिबार अनुगमन गर्नु भएको हो ।

मन्त्री नेम्बाङ आफ्नो नीजि नम्बर प्लेटको गाडी आफै ड्राइभ गरेर अनुगमनमा सुटुक्क निस्किनु भयो । मध्यहन्न ४ः १५ बजे नयाँ बानेश्वर, मीनभवन अगाडी सडक मर्मत भइरहेको स्थानमा उहाँको सेतो गाडी रोकियो । जहाँ ट्राफिक डाइभर्सनका लागि डोरी टाँगिएका थिए । डोरी टाँगिएकै अगाडी प्राइभेट नम्बरको गाडी रोकिएपछि एकछिन त सडक निर्माणमा खटिएका कर्मचारीहरु अलमलमा परे । जब ती कर्मचरीहरुले विभागीय मन्त्री नै अनुगमन आएको थाहा पाए हत्तपत्त डोरि खोलियो ।

उहाँले गाडीबाट ओर्लिएर मर्मत भइरहेको स्थानमा सुक्ष्म अवलोकन गर्नुका साथै निर्माणमा खटिएका कर्मचारीबाट जानकारी समेत लिनु भयो । जहाँ विछ्याइएको अस्फाल्टको परिक्षण समेत गरिए । अस्फाल्टको तह ६ सेन्टिमिटर रहेका थिए । निर्माणमा खटिएकी इन्जिनियर सजना अधिकारीले अस्फाल्टको तह चार सेन्टिमिटर हुने तर अहिले रोलरले नथिचिएकाले छ सेन्टिमिटर रहेको जानकारी गराउनु भएको थियो ।

अघिलो शनिबारदेखि यो सडक खण्डको आवधिक मर्मत कार्य भइरहेको छ । ट्राफिक चापका कारण शनिबार–शनिबार मात्र काम भइरहेको र आउँदो शनिबार निर्माण कार्य सक्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री नेम्बाङले लाखौ सेवाग्राहीले समस्या झेलिरहनु परेको स्मार्ट लाइसेन्स छपाईको समेत छड्के अनुगमन गर्नु भएको छ । यातायात व्यवस्था विभाग पुगेर स्मार्ट लाइसेन्स छाप्नका निम्ति सञ्चालनमा लिइएको मास प्रिन्टको वस्तुस्थिति बारे उहाँले जानकारी लिनु भएको हो ।
ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरि सहज रुपमा लाइसेन्स वितरण गर्न उहाँले पहल थाल्नु भएको छ ।

अहिले सञ्चालनमा आएको उक्त मास प्रिन्टले दैनिक दश हजार प्रिन्ट गर्छ । यस मेसिनले प्रभावकारी रुपमा काम गरे लाइसेन्सको समस्या चार महिनामा समाधान हुनेछ । ट्रायल पास गरेका करिव ८ लाखले लाइसेन्स पाएका छैनन् ।