• गृहपृष्ठ
  • किन सामाजिक सुरक्षा कोषमा जान हच्कीएका छन् बैंकका कर्मचारी ?

किन सामाजिक सुरक्षा कोषमा जान हच्कीएका छन् बैंकका कर्मचारी ?

Dec 22nd, 2019

काठमाडौं, ६ पुस

बैंकबाट अवकाश पाउँदा पाउने निवृतभरण बापतको रकम गुम्ने भयले अहिले बैंकका कर्मचारीहरु सामाजिक सुरक्षा योजनामा जान हच्कीएका छन् । जबकी कोषमा जाने बित्तिकै बैंकबाट पाउने रकम गुम्ने होइन कि बरु कोषबाटै थप पेन्सन् समेत पाइन्छ ।

सामाजिक सुरक्षा कोषमा आवद्ध भएपनि कोषले कम्पनीबाट पाउने थप सेवा सुविधा र खाइपाई आएको सुविधामा कुनै कटौति नहुने व्यवस्था गरेको छ । कोषमा आवद्ध भएमा बैंकबाट पाउने निवृतभरणबापतको रकम नपाउने सञ्चालकहरुले हल्ला चलाएसँगै कर्मचारी कोषको योजनामा जान हच्कीएका हुन् ।

साथै बैंकिङ्ग क्षेत्रमा कर्मचारी लगायत उनीहरुको परिवारको समेत बीमा गर्ने गरेकोमा सामाजिक सुरक्षा कोषले कर्मचारीको मात्र बीमा गर्ने देखिएकोले बैंकका कर्मचारीहरुको दोहोरो बीमा प्रिमियम तिरे पनि बीमा दाबी गर्दा एक ठाँउबाट प्राप्तहुने हुनाले, यसमा समेत कर्मचारी तथा बैंकलाई दोहोरो भार पर्ने कर्मचारीहरुको भनाई छ ।

सामाजिक सुरक्षा कोषका अनुसार ९ लाख रोजगारदाता मध्ये १२ हजार मात्रै सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । यि संस्थाका जम्मा १ लाख ३३ हजार कर्मचारी मात्रै यो योजनामा सूचिकृत भएका छन् । र, कोषले सूचिकृत हुन दिएको समय बितेको पनि १५ दिनभन्दा बढि भइसकेको छ ।

गत हप्ता मात्रै नेपाल राष्ट्र बैंकले बाणिज्य बैंक, बिकास बैंक र वित्त कम्पनीलाई यो योजनामा सहभागि हुन निर्देशन दियो । तर राष्ट्र बैंकको यस्तो निर्देशन पछि बैंकका कर्मचारी भने आक्रोशित भएका छन् । र, यसलाई बाध्य नपार्न राष्ट्र बैंकसँग आग्रह गर्दै सामाजिक सुरक्षा कोषको कार्यविधी समेत संसोधन गर्न आग्रह गरेका छन् ।

बैंकका कर्मचारीहरु सरकारले निजी क्षेत्रका कर्मचारी र सरकारी कर्मचारीबिच विभेद गरेको बताउँछन् । सरकारले सरकारी कर्मचारीको लागि भन्दै निवृतभरण कोष ल्याएको छ । जसमा सरकारले रकम थपिदिने मात्रै होइन निजी क्षेत्रका कर्मचारीले योगदान गर्नुपर्ने रकम भन्दा कम रकमनै योगदान गरे पुग्छ । निवृतिभरण कोषमा कर्मचारीले ६ प्रतिशत योगदान गरेपुग्छ भने सरकारले त्यती नै बराबरको रकम थपिदिन्छ । तर , सामाजिक सुरक्षा कोषले सञ्चालनमा ल्याएको योजनामा भने सरकारले कुनै पनि रकम थपिदिदैन ।

बढि योगदान गर्ने र कम योगदान गर्नेले समेत एकै खालको सेवा सुविधा पाउने भन्दै उनिहरुले सरकारले यसमा जान बाध्य बनाउन नहुने तर्क राख्छन् । योगदानमा आधारित भनिएपनि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्त सुरक्षा योजना बापतको रकम सबैले एकै खालको पाउन अव्यवहारिक व्यवस्था भएको उनिहरुको भनाई छ ।

बैंकर्सले अहिले पाएको तलबमा करिब ३६ प्रतिशत कर तिर्छन् । र फेरी सामाजिक सुरक्षा कोषबाट पेन्सन् थाप्दा थप १५ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । यसले गर्दा आफुहरु दोहोरो करको मारमा परेको उनिहरुको भनाई छ । साथै योगदान गरेको रकमको सावा नै गुम्ने खतरा भएको भन्दै उनिहरुले योगदान गरेको रकम समेत फिर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

‘कार्यविधिको दफा२४ (ग) मा योगदानकर्ताले निवृत्तिभरण प्राप्त गरे पछि १८० महिनानिवृत्तिभरण नपाउदै निजको मृत्यु भएमानिजको पतिवापत्नीको वैकल्पिक रोजगारी नभएको अवस्थामा मृतकको पतिवापत्नीलाई पचास प्रतिशतले हुनआउने रकमप्रदान गरिएको छ भनीउल्लेख गरिएको छ । कर्मचारीले योगदान गरेको रकमअवकाश पछिको १८० महिना अघि नै उसको मृत्यु भएको खण्डमा आफ्नो पति÷पत्नीले सो रकमपाउने सुनिश्चित हुनु पर्ने ।’ बैक तथा वित्त सस्थाले हालै राष्ट्र बैंकमा बुझाएको पत्रमा उल्लेख गरिएको छ ।