• गृहपृष्ठ
  • अपहरण तथा शरीर बन्धक मुद्दाका फरार कसुरदार पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार कसुरदार पक्राउ

Dec 20th, 2019

काठमाडौं, पुस ४

पुनरावेदन अदालत हेटौंडाको २०७० माघ २१ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कसुरदार काठमाडौं महानगरपालिका ४ बस्ने ४१ वर्षीय गौतम योञ्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई महाराजगंजबाट फेला पारी पक्राउ गरेको हो ।

२०६७ जेठ ४ गते राति चितवन भरतपुर नगरपालिक १० चौबिसकोटीस्थित चितवन अस्पतालबाट घर फर्कने क्रममा तत्कालीन बिपि कोइराला क्यान्सर अस्पताल भरतपुरका निर्देशक डा. भक्तमान श्रेष्ठलाई अपहरण गरी काठमाडौं र नुवाकोटको विभिन्न ठाउँमा बन्धक बनाई राखी १८ दिन पश्चात भारतमा फिरौती पाएपछि २०६७ जेठ २२ गते धादिङको माझिकोटबाट अपहरण मुक्त गरेको घटनामा योञ्जन कसुरदार रहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

योञ्जनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको उक्त ब्यूरोले जनाएको छ ।