• गृहपृष्ठ
  • प्रवासी नेपालीद्वारा रु पाँच लाखभन्दा बढी सहयोग

प्रवासी नेपालीद्वारा रु पाँच लाखभन्दा बढी सहयोग

Dec 20th, 2019

दमौली, ४ पुस (रासस)

करेन्ट लागेर घाइते हुनुभएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

कष्टकरपूर्ण जीवन बिताइरहनुभएका थापालाई समाजले रु पाँच लाख ४५ हजार ३०० आर्थिक सहयोग गरेको हो । युकेमा रहेमा नेपालीहरुबाट सङ्कलन गरिएको उक्त रकम समाजका उपाध्यक्ष केशरबहादुर राना र भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले घाइते थापा र उहाँका श्रीमती सङ्गीता थापालाई हस्तान्तरण गर्नुभएको छ ।

विसं २०७० मा घर नजिकै बाँसपानीमा बिजुलीको लाइन मर्मतको क्रममा करेन्ट लागेर थापा घाइते हुनुभएको थियो । घाइते थापाको कष्टकरपूर्ण जीवनको बारेमा जानकारी पाएपछि युकेमा आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरिएको समाजका उपाध्यक्ष रानाले जानकारी दिनुभयो । “कामको सिलसिलामा परदेशमा रहे पनि गाउँघरमा अप्ठ्यारो परेकालाई समाजले सहयोग गर्दै आइरहेको छ”, रानाले भन्नुभयो ।

भिमाद नगरपालिकाका उपप्रमुख खनालले थापाको लागि नगरपालिकाको तर्फबाट पनि सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । “स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, आपत्विपत्मा परेकालाई सहयोग गर्न नगरपालिका प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

करेन्ट लागेर थापाको अनुहार डढेको छ । शरीरको विभिन्न भागको मासु निकालेर उहाँको डढेको अनुहारमा मासु राखिएको छ । श्वास फेर्न कठिनाइ भएपछि नाकमा पाइप राखिएको छ भने देब्रे आँखा मासुले ढाकिएको र दाहिने आँखाको ज्योति गुमेको छ । आँखाको ज्योति फर्काउन चिकित्सकले रु ३० लाखभन्दा बढी खर्च लाग्ने बताएको शिवले बताउनुभयो । उहाँको उपचारका लागि नेपालमा पनि आर्थिक सङ्कलन शुरु गरिएको अभियान्ता शालिकराम सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म रु पाँच लाख सङ्कलन भएको छ ।