• गृहपृष्ठ
  • रोजगार मैत्री वातावरण बनाउन सहकार्य गर्ने प्रतिवद्धता

रोजगार मैत्री वातावरण बनाउन सहकार्य गर्ने प्रतिवद्धता

Dec 20th, 2019

काठमाडौ, पुुस ४

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघले रोजगार मैत्री वातावरण सृजना गर्न सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई बधाई तथा शुभकामना दिन मन्त्रालयमा गएको परिसंघ प्रतिनिधि मण्डलले मन्त्री यादवसँगको अन्तक्र्रियामा आपसी सहकार्यलाई गहन बनाउने प्रतिवद्धता जनाएको हो ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनहरुसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सृजना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनु पर्ने समय आएको बताउनु भयो । स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालु उद्योगमा समेत परेको सन्दर्भमा रोजगारी सृजना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले मन्त्रालयसँग सघन साझेदारीका लागि प्रतिवद्ध रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नु भयो ।

सँगसँगै सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई पेश गर्नु भयो । अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि भएमात्र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने बताउनु भयो ।

सो अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले उद्योगी र श्रमिक बीच सौहार्दपूर्ण वातावतरण भए आर्थिक क्षेत्रको उत्पादकत्व पनि बढ्ने र यसले मन्त्रालयको उद्देश्य पनि पुरा हुने बताउनु भयो । यसैगरि मन्त्री यादवले सामाजिक सुरक्षा कार्यक्रममा देखिएका व्यवहारिक समस्या समाधानमा प्राप्त सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सो अवसरमा मन्त्रालयका सचिव विनोद केसी, परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन सारदा सहित राष्ट्रिय परिषद् सदस्य नरेश दासको समेतको उपस्थिति रहेको थियो ।