• गृहपृष्ठ
  • काँग्रेसद्वारा संविधानअनुकूल विधेयक प्रस्तुत गर्न माग

काँग्रेसद्वारा संविधानअनुकूल विधेयक प्रस्तुत गर्न माग

Dec 20th, 2019

काठमाडौँ, ४ पुस (रासस)

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधानको भावना र मर्मविपरीत सदनमा विधेयक प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ । काँग्रेस संसदीय दलको बिहीबार बसेको बैठकले नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलगायतका विधेयक फिर्ता लिई संविधान अनुकूल विधेयक प्रस्तुत गर्न सरकारसँग माग गरेको हो ।

बैठकले संवैधानिक परिषद्को कार्य सञ्चालन गर्ने ऐनलाई संशोधन गर्न अध्यादेशमार्फत प्रयास भएको जनाउँदै यस सन्दर्भमा संविधानविपरीत संसदीय पद्धतिको विरुद्ध हुने गरी ल्याइने कुनै पनि विधेयकप्रति आपत्ति प्रकट गर्ने जनाएको छ ।

विश्वविद्यालयमा गरिएका कतिपय नियुक्तिहरुले विद्यालयको प्राज्ञिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको आरोप लगाउँदै काँग्रेसले त्यसप्रति आपत्ति प्रकट गरेको छ । विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप नगर्न सरकारसँग माग गर्ने निर्णय गरेको काँग्रेस सचेतक पुष्पा भुषाल गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले राजनीतिक पूर्वाग्रह राखी राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाउने कार्य भएको टिप्पणी गर्दै सो कार्य तत्काल बन्द गर्न माग गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेसका सांसद मोहमद अफताव आलममाथि राजनीतिक पूर्वाग्रह राखी झुटा प्रमाण सङ्कलन गर्दै फसाउने कार्य भएको भन्दै काँग्रेस संसदीय दलले आपत्ति जनाएको छ । बैठकले स्वतन्त्र र निष्पक्ष छानबिनमाथि सरकारलाई पूर्वाग्रही ढङ्गबाट हस्तक्षेप नगर्नसमेत सचेत गराएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी बैठकले भारतसँगको सीमा समस्या समाधानका लागि सरकारले हालसम्म गरेका पहलका बारेमा संसद्मा जवाफ माग गर्ने निर्णय गरेको छ ।

काँग्रेसले प्रधानमन्त्री तहबाट हालसम्म सो सन्दर्भमा कुनै पहल भएको नदेखिएको भन्दै त्यसबारे संसद्मा स्पष्ट जवाफको लागि माग गर्ने निर्णय गरेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अभिभाज्य भूमि भएको र भारतले केही समय अगाडि उक्त सम्पूर्ण भू–भागलाई आफ्नो भूमिमा गाभेर प्रकाशित गरेको नक्साप्रति आपत्ति जनाउँदै सो बारेमा काँग्रेसले यसअघि नै आफ्नो धारणा स्पष्ट गरिसकेको जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाबाट राष्ट्रियता र राष्ट्रिय अखण्डताजस्तो संवेदनशील विषयमा प्रतिपक्ष नभई राष्ट्र एकसाथ उभिनुपर्ने धारणा राखी सो विषयमा सरकारले लिने कूटनीतिक पहल र अग्रसरतामा पार्टीको पूर्ण सहयोग र समर्थन रहने स्पष्ट दृष्टिकोण राखिसकेको समेत काँग्रेसले जनाएको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशनबीच भएको अनुदान सहायता सम्झौतालाई यथाशीघ्र सदनबाट पारित गर्दै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएको छ ।