भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन

Dec 19th, 2019

नारायण अधिकारी
चितवन, ३ पुस (रासस)

भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन ।

६ सय श्यया रहेको अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिनुभयो । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी रहेका मध्ये १४५ जना मात्र कार्यरत रहेका छन् । ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र दरबन्दीमा रहेका छन् ।

पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन् । चार सय आठजना समितिका कर्मचारी कार्यरत रहेका छन् । तीमध्ये ४९ जना चिकित्सक रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले विकास समिति बाहेक स्वास्थ्य सेवाका चिकित्सक,नर्स अनमी गरी ७५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
अस्पतालको सरसफाइमा अहिले ठेकेदारमार्फत एक सयजना कार्यरत रहेका छन् । क्रमशः अस्पताल विस्तार हुँदै जाँदा सोही प्रक्रियामा सङ्ख्या थप्दै लैजानुपर्ने प्रस्ताव अस्पतालले गरेको छ ।
अस्पतालमा वार्षिक रुपमा तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । एकै दिनमा दुई हजार २०० सम्म बिरामी बहिरङ्ग सेवा लिन आएको उहाँले जानकारी दिनुभयो ।

चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । अस्पतालमा १९ वटा विभाग सञ्चालमा रहेको छ । काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा यस अस्पताललाई चिनिने गरिन्छ । अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए ।

मन्त्रिपरिषद्को गत फागुन ३ गतेको बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो । थियो । प्रदेश सांसद विजय सुवेदी अस्पताल केन्द्रीय भए पनि सुविधा प्राप्त गर्न नसकेको हुँदा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति केन्द्रीय अस्पताल सरह हुनुपर्छ भन्नुभयो । यस अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउन सरकारले निर्णय गरेको भए पनि काम हुन नसकेको उहाँले बताउनुभयो ।