• गृहपृष्ठ
  • ब्यापार घाटामा सुधार, मुलुक २७ अर्ब २९ करोडले बचतमा

ब्यापार घाटामा सुधार, मुलुक २७ अर्ब २९ करोडले बचतमा

Dec 19th, 2019

काठमाडौं , मंसिर ३

गत वर्षको कात्तिक महिनासम्ममा व्यापार घाटा ३७.८ प्रतिशतले वृद्धि भएको थियो । तर, डन्डीको कच्चा पदार्थ एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, हवाईजहाजका पार्टपुर्जा र सिमेन्टको आयातमा आएको कमिका कारण यो वर्षको कात्तिक महिनासम्ममा मुलुकको ब्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई ४ खर्ब १४ अर्ब २ करोडमा सिमित छ ।

गत वर्षको कात्तिक महिनामा मुलुकमा भित्रिने रकमको तुलनामा बाहिरिने रकम बढि थियो । जसका कारण सोधानान्तर स्थिती ५७ अर्ब ३३ करोडले घाटामा थियो । तर आयातमा आएको कमि, विदेश घुम्न तथा पढ्न जानेले लाने रकममा आएको कमि जस्ता कारणले यो वर्ष भने मुलुकको सोधानान्तर स्थिती २७ अर्ब २९ करोडले बचतमा रहेको छ ।

बैदेशिक रोजगार विभागका अनुसार गत वर्षको तुलनामा विदेशमा काम गर्न जाने कामदारको संख्यामा बृद्धि भएको छ । तर कामदार बढेअनुसार रेमिट्यान्स बढ्नुको साटो रेमिट्यान्स बृद्धिदरमा भने झनै कमि आएको छ ।

तर रेमिट्यान्सको बृद्धिदर भने गत वर्षको तुलनामा २ दशमलव ३ प्रतिशतले घटेको छ । गत वर्ष सरकारले हुन्डीमा गरेको कडाइका कारण रेमिट्यान्स ह्वात्तै बढेकाले रेमिट्यान्स बृद्धिको आधार नै उच्च रहेका कारण यो वर्ष रेमिट्यान्समा बृद्धि हुन नसकेको देखिएको राष्ट्र बैंक बताउँछ ।अघिल्लो वर्षको कात्तिक महिनासम्ममा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कात्तिक महिनासम्ममा ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.४ प्रतिशतले घटेको थियो ।

पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या कात्तिक महिनासम्ममा ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले घटेको थियो ।

गत वर्ष निक्षेपभन्दा कर्जाको बृद्धि ठूलो मात्रामा बढ्दा बजारमा तरलता अभावको सिर्जना भएको थियो । गत वर्ष कर्जा र निक्षेप संकलनको बृद्धिदर असुन्तलीत थियो । तर यो वर्ष भने कर्जाको बृद्धि निक्षेपको तुलनामा केहि कम भएको राष्ट्र बैंक बताउँछ ।