काँग्रेस केन्द्रीय समिति बैठक स्थगन

Dec 18th, 2019

काठमाडौँ, २ पुस (रासस)

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आजको लागि निर्धारित बैठक बस्दै नबसी स्थगन भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्थासम्बन्धी विषयमा आन्तरिक सहमतिको प्रयास जारी रहेकाले आजको बैठक स्थगन गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

उक्त विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमतिका लागि प्रयास जारी छ । पछिल्लो समय पार्टीको १४औँ महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ । महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता पौडेल पक्षका नेताहरु गत मङ्सिर २६ र २९ गतेको केन्द्रीय समिति बैठकमा उपस्थित हुनुभएन । नेता पौडेल पक्ष निर्धारित समयमै पार्टीको १४औँ महाधिवेशन गर्नका लागि दबाब दिन महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडानमा छ ।

यसअघि मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पु¥याउने, उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव प्रस्तुत गरिएको थियो । पार्टीको केन्द्रीय समितिको आगामी बैठक यही पुस ४ गते दिउँसो १ः०० बजे बस्ने तय भएको उहाँले जानकारी दिनुभयो ।