• गृहपृष्ठ
  • पिपिएल क्रिकेट: चितवन राइनोजद्वारा साविक विजेता पोखरा पल्टन पराजीत

पिपिएल क्रिकेट: चितवन राइनोजद्वारा साविक विजेता पोखरा पल्टन पराजीत

Dec 17th, 2019

काठमाडौँ, १ पुस (रासस)

पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजीत गर्दै विजयी शुरुआत गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजीत गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।

चितवनको जीतमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बल खेलको उनले ६ चौका र चार छक्का प्रहार गर्दै अविजीत ६६ रनको योगदान दिए । त्यस्तै सन्नी पटेलले २२ तथा रोहन मुस्ताफाले ११ रन जोडे ।

बलिङतर्फ पोखराका राशिद खान र सर्वोजीत लड्डाले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

त्यसैगरी कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रवि इन्दर सिंहले समान १०/१० रन जोडे । दुई खेल खेलेको पोखराले एक खेलमा जीत हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ ।