• गृहपृष्ठ
  • सप्तरीको सिमराहाबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

सप्तरीको सिमराहाबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

Dec 17th, 2019

सप्तरी, १ पुस (रासस)

सप्तरीको बोदे बर्साइन नगरपालिका–९ सिमराहाबाट सप्तरी प्रहरीले लागुऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीचौकी काचनबाट खटिएको प्रहरी गस्ती टोलीले भारत विहारका २० वर्षीय जीतेन्द्रकुमार यादव र २२ वर्षीय शङ्कर यादवलाई पक्राउ गरेको जनाएको छ ।

नेपाल–भारत सीमा छेउमा बिआर ३२ वाई ४२६५ नम्बरको मोटरसाइकल पार्क गरी कुरा गरिरहेका उनीहरूलाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार शङ्करले हातमा बोकेको झोलाबाट नाइट्राजेपाम ट्याब्लेट १० पत्ता ९१०० वटा० र डाइलेक्स–डिसी १० बोतल फेला परेको छ । यसैगरी जीतेन्द्रको साथबाट १०÷१० वटा डाइजेल्याब इन्जेक्सन, नोफिन इन्जेक्सन र फेनारगन इन्जेक्सन फेला परेको छ । दुवै जना भारतीय नागरिकविरुद्ध लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले बताउनुभयो ।

लागुऔषधसहित युवक पक्राउ

सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित लोकमार्गबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ११ का २० वर्षीय दिनेश चौधरी १५ वटा लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१प ८१४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी सामान्य घाइते भएका थिए । चौधरीको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

नाइट्रोजन ट्याब्लेट र मोटरसाइकलसहित चौधरीलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।