• गृहपृष्ठ
  • सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते

सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा पच्चीस यात्रु घाइते

Dec 16th, 2019

काठमाडौँ, ३० मङ्सिर (रासस)

काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बा ५ ख ८२२६ नं को यात्रुबाहक बस र महाराजगञ्जदेखि नयाँ बसपार्कतर्फ जाँदै गरेको बा १ ख ८६९३ नं को यात्रुबाहक बस आज साँझ ६:१५ बजे ठोक्किँदा २५ यात्रु घाइते भएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक लोकबहादुर विष्टले बस एकापसमा ठोक्किँदा बसभित्र रहेका २५ यात्रु घाइते भएको जानकारी दिनुभयो । घाइतेको सामाखुशीको अल नेपाल अस्पताल र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ बसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरेको बस भक्तपुर चल्ने र महाराजगञ्जदेखि बसपार्क जाँदै गरेको बस चक्रपथ चल्दै आएका थिए । महाराजगञ्जबाट बसपार्क जाँदै गरेको बसका चालक भने गम्भीर घाइते रहेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । घाइतेको नाम भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।