नेकपा स्थायी कमिटी बैठक जारी

Dec 16th, 2019

काठमाडौँ, ३० मङ्सिर (रासस)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौंथो बैठक दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्ने क्रम अघि बढेको छ ।

बैठकमा स्थायी कमिटीका १२ जना सदस्यले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि निर्धारित २० मिनेट समय सीमाभित्र रहेर मन्तव्य राख्नुभएको छ । आजको बैठकमा बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावमा उल्लेखित वैचारिक, सङ्गठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझावसमेत प्रस्तुत गर्नुभयो ।

उहाँहरुले सङ्गठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत आ–आफ्ना सुझाव राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी समितिको अर्को बैठक भोलि पुस १ गते बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ ।