• गृहपृष्ठ
  • बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग

बूढीगण्डकी आयोजना निर्माण तत्काल अगाडि बढाउन माग

Dec 16th, 2019

गोरखा, ३० मङ्सिर (रासस)

प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युतु आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताउनुभएको छ । भीमसेन थापा गाउँपालिका–४ धावामा आइतबारआयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले त्यसलाई प्राथामिकता दिएर निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद अधिकारीले भन्नुभयो, “विद्युत् उत्पादन मात्र नभई अब आयोजना वरपरको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी आयोजना निर्माणको अघि बढाउनु आवश्यक छ ।” उहाँले आयोजना वरपर चक्रपथ निर्माण गरी त्यसको उचित व्यवस्थापन गर्न सके यो आयोजनाले देशको मुहार नै फेर्न सक्ने बताउनुभयो ।

सांसद अधिकारीले आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखातर्फका आरुघाट, आर्खेत र धादिङतर्फका विशालटार तथा खहरे क्षेत्रको मुआब्जा निर्धारण भएका केही प्राविधिक समस्यालाई हल गर्न आफूले पहल गरिरहेको बताउनुभयोे । “मुआब्जामा निर्धारणमा जनतालाई मर्कामा पर्नु हुँदैन भन्नेमा म पनि प्रतिबद्ध छु”, उहाँले भन्नुभयो, “डुबान क्षेत्रका जनताको पुनर्बास र पुनःस्थापनाका लागि अब राज्यले उचित निर्णय लिनुपर्छ ।”