भालुको आक्रमणमा आठ घाइते

Dec 15th, 2019

रसुवा, २९ मङ्सिर (रासस)

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म भालुको आक्रमणमा परी घाइते भएका स्थानीयवासीको नाम सार्वजनिक भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार भालुको आक्रमणबाट घाइते हुनेमा हालसम्म दुई सुरक्षाकर्मीसहित आठ पुगेका छन् ।

यसरी घाइते हुनेमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा एवं राजश्व गस्ती २१ नम्बर गुल्म टिमुरेका सहायक प्रहरी हवल्दार वीरबहादुर थिङ एवं प्रहरी जवान किरण तामाङ रहेका र सर्वसाधारणतर्फ नुवाकोटका प्रकाश तामाङ रहेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । अन्य घाइतेमा रसुवा नौकुण्ड गाउँपालिका निवासी मेम्मर लोप्चन, आमाछोदिङ्मो गापाका मीन तामाङ, गोसाइँकुण्ड गापा वडा नं ५ का दुप्ले लामा, वडा नं ६ का मोदनाथ घिमिरे र वडा नं ५ का आङबाबु तामाङ रहेका बताइएको छ ।

सरकारी अस्पतालको सिफारीसमा भालुको आक्रमणमा परेका व्यक्तिलाई नियमानुसारको उपचार खर्चसमेत प्रदान भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले जानकारी दिनुभयो । उत्तरी रसुवामा भालुको आक्रमणले आतङ्क मच्चाउँदै गएपछि प्रहरी गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चौध हजार पर्यटक रसुवामा

गत साउन महिनादेखि मङ्सिरसम्म पर्यटकको आगमन सङ्ख्यासमेत लाङ्टाङ राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कअनुसार यो आर्थिक वर्षको यस अवधिमा १४ हजार २४४ आन्तरिक एवं बाह्य पर्यटकले लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको भ्रमण गरेका थिए ।

यसरी हिमाली भेगको भ्रमण गर्ने पर्यटकमा आन्तरिकरुपका आठ हजार ३८७ र बाह्य देशका पाँच हजार ८५७ रहेका वन प्राविधिक बस्नेतले बताउनुभयो । आन्तरिक एवं बाह्य पर्यटकद्वारा निकुञ्ज प्रवेश गरेबापत रु दुई करोड १५ लाख २४ हजार ६१७ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ ।