• गृहपृष्ठ
  • आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति ,कार्यालय नआएरै तलब खान्छन् कर्मचारी

आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति ,कार्यालय नआएरै तलब खान्छन् कर्मचारी

Dec 15th, 2019

जलेश्वर, २९ मङ्सिर (रासस)

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति भेटिएको छ । आयुर्वेद केन्द्रका कर्मचारीहरु प्रायः कार्यालय नआएरै तलब खान्छन् भने महिनाको एकचोटि मात्रै पनि कार्यालय आए पुग्छ । दश जनाको दरबन्दी रहेको सो केन्द्रमा हप्तौँदेखि कार्यालय प्रमुख पवन झा आएको देखिँदैन भने अन्य कर्मचारी पनि यस्तै पालो मिलाएर कार्यालयमा अनुपस्थित रहने गरेको अनुगमनका क्रममा फेला परको छ ।

प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश आयुर्वेद महाशाखाका अधिकारी सुजित शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलगायतको टोली अचानक सो स्वास्थ्य केन्द्रमा पुग्दा कर्मचारीहरु अनुपस्थित भेटिएका थिए ।

अनुगमनका क्रममा केन्द्रमा रहेको औषधि वितरण कक्षमा धेरै औषधि म्याद गुज्रेको भेटिएको थियो भने पर्याप्त मात्रामा औषधिसमेत उपलब्ध नरहेको देखिएको थियो । अनुगमन टोलीले त्यस स्वास्थ्य केन्द्रमा केन्द्रको लेटरप्याड, लेखपढ गर्ने कुनै कागजपत्र र कार्यालयको बोर्डसमेत नरहेको फेला पारेको थियो ।

राज्यमन्त्री शर्माले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कसैलाई पनि नछोडिने भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई आवश्यक कारवाही गरिने बताउनुभयो । आयुर्वेद महाशाखाका शर्माले गत आवमा मात्रै त्यस स्वास्थ्य केन्द्रमा रु ४० लाखको औषधि उपलब्ध गराइएकामा अहिले त्यहाँ औषधि नरहेको, भएको औषधि पनि म्याद गुज्रिएको र म्याद गुज्रिएकै औषधि बिरामीहरुलाई वितरण गरिएकामा त्यहाँको बेथितिप्रति विशेष ध्यानाकर्षण भएकाले यसमा संलग्न सबैलाई आवश्यक कारवाही गर्ने बताउनुभयो ।