सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Dec 15th, 2019

काठमाडौं, २९ मंसिर

सिरहा, गोलबजार नगरपालिका ९ घुर्मी पुलस्थित सडकमा स.१ क १६६ नम्बरको माउण्ट एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको बसले बा.२१ च ८५०४ नम्बरको कारलाई शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका कारमा सवार सोही नगरपालिका १० बस्ने ४० वर्षीय राज कुमार यादवको उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटना घाइते भएका कारमा सवार अन्य ४ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बासगढी नगरपालिका १ देउरालीस्थित सडकमा भे.१ क १९६३ नम्बरको ट्रकले भे.३ प ८०९३ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बढैयाताल गाउँपालिका ५ बस्ने २१ वर्षीय दिपक खडकाको मेडिकल कलेज कोहलपुर हुँदै भारतको लखनउमा थप उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।