• गृहपृष्ठ
  • आज हनुमन्ते नदी सफाइ अभियानको ९४ औँ हप्ता:पाँच टन फोहर सङ्कलन

आज हनुमन्ते नदी सफाइ अभियानको ९४ औँ हप्ता:पाँच टन फोहर सङ्कलन

Dec 14th, 2019

भक्तपुर, २८ मङसिर (रासस)

हनुमन्ते नदी सरसफाइ अभियानको आज ९४ औँ हप्ता भक्तपुरको सूर्यविनायक गणेश मन्दिर आसपासको क्षेत्रमा सरसफाइ गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ वडा कार्यालयको समन्वयमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा आज भएको सफाइमा पाँच टन फोहर सङ्कलन गरिएको छ । आमनागरिकमा जनचेतना अभिवृद्धि गर्ने तथा नदी र खुल्ला ठाउँ कतै पनि फोहर नफाली व्यवस्थित गर्न प्रेरणा मिल्ने उद्देश्ले सांसद महेश बस्नेतको अगुवाइमा भएको अभियानको ९४ हप्ता पुग्दा पनि चेतनशील व्यक्तिबाटै नदी र सार्वजनिक क्षेत्रमा पटकपटक फोहर फाल्नु निन्दनीय भएको प्रजिअ पाण्डेले बताउनुभयो । सफाइ अभियान अभियन्ता एवं वडा नं ८ का वडाध्यक्ष किरण थापाले सूर्यविनायक मन्दिर आसपास र यहाँ वनभोज मनाउन आएकाहरुबाट व्यापक फोहर भएको बताउँदै सरसफाइबाट पाँच टन फोहर सङ्कलन भएको जानकारी दिनुभयो ।

अभियानमा नेपाली सेनाको वीरदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको सफाइ दूत मदन घिमिरेले जानकारी दिनुभयो ।