• गृहपृष्ठ
  • गृहमन्त्री थापाको आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

गृहमन्त्री थापाको आतिथ्यमा प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न

Dec 14th, 2019

काठमाडौं, मंसिर २८

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम (१७९ औं पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स १० औं ) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा गृहमन्त्री थापाले तालिममा सर्वप्रथम, शारीरिक व्यायाम तथा आत्मवल अभिवृद्धि र प्रहरी युक्ति तथा कारबाही प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षक किरण राउत, सर्व्द्वितीय, अध्ययन र कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक अनिल थापा, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक सुवास खतिवडा र चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक देवराज भट्टराईलाई पुरस्कार प्रदान गर्नुभयो ।
उक्त अवसरमा गृहमन्त्री थापाले नेपाल प्रहरीले विभिन्न अड्चन तथा चुनौतिको सामु आफूलाई संयमित राख्दै पारदर्शी र निष्पक्ष कार्यशैलीकासाथ व्यावसायिक धर्म निर्वाह गर्नु पर्ने बताउनुभयो । नागरिकको संविधानप्रदत्त मैलिक हक तथा मानवअधिकारको संरक्षण, सम्बर्द्धन र राज्यका निर्देशक सिद्धान्तको अनुशरण तथा नीतिहरुको कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन नेपाल प्रहरीका सकल दर्जाले अहम भूमिका निर्वाह गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

गृहमन्त्री थापाले सीमित श्रोत साधन र अनेक जटिलताकाबीच नेपाल प्रहरीले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउँदै आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । नागरिकले प्रहरीप्रति राखेको विश्चास र भरोसालाई थप प्रगाढ र मजबुत बनाउन कर्तव्य पालना गर्नुको अर्को विकल्प नरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुभयो, ‘जिम्मेवारी निर्वाहमा हुने सानो लापरवाहीले सिंगो संगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुन्छ । राज्यले नेपाल प्रहरीबाट गरेको अपेक्षाबाट विमुख हुने अवसर तपाईंहरुलाई छँदै छैन ।’

प्रशिक्षार्थीहरुले प्रशिक्षित भइसकेपछि दिनसक्ने सबै भन्दा ठूलो प्रतिफलनै आमनागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति, न्यायको अभ्यास र राज्यप्रतिको विश्वासमा अभिवृद्धि रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि सिनियर अफिसरका रुपमा परिस्थिति अनुरुप सृजनात्मक हुन जरुरी रहेको तथा प्रशिक्षणमा हासिल गरेका सैद्धान्तिक, व्यावहारिक तथा प्रयोगात्मक ज्ञानले समस्या पहिचान गर्ने र त्यसलाई समाधान गर्ने विवेक प्राप्त भईसकेको विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कानुनले निर्दिष्ट गरेका जिम्मेवारीहरुका अतिरिक्त जनअपेक्षा अनुरुप नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने सामाजिक एवं नैतिक जिम्मेवारीहरुको दायरा समेत फराकिलो रहेको बताउँदै गृहमन्त्री थापाले अबको प्रहरी अपराध अनुसन्धान र शान्ति सुरक्षाका साथै सामाजिक विकासका हरेक पक्षहरुसँग गाँसिएको र नेपाल प्रहरी संगठनले अंगिकार गरेको ‘समुदाय(प्रहरी साझेदारी’ अभियान मार्फत समाजका हरेक तह र तप्कालाई जागरुक बनाउन गरेको प्रयास पनि सामाजिक विकासको लागि सशक्त योगदान रहेको चर्चा गर्नुभयो ।

संगठनलाई समयानुकूल बैज्ञानिक, प्रविधियुक्त श्रोत साधनबाट थप सुसज्जित गर्नेतर्फ गृहमन्त्रालय गम्भीर रहेको र सो अनुरुप भौतिक पुर्वाधार, थप दरबन्दी निकासा, अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आधुनीकिकरण भइरहेको उहाँले बताउनुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी निरीक्षकको रूपमा प्रवेश गर्ने प्रहरी अधिकृतहरुले प्राप्त गर्ने राष्ट्रको सेवाको अवसर र त्यसको प्रतिफलमा राष्ट्रले दिने पहिचान र सम्मानको कुनै मूल्य र तुलना नहुने चर्चा गर्दै राष्ट्र र नागरिक सेवालाई जीवनको लक्ष्य ठानी बफादार र सच्चा प्रहरीको रुपमा आफूलाई चिनाउन प्रहरी अधिकृतहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन नेपाल प्रहरी सदैव तत्पर रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले सामाजिक रुपान्तरण र दिगो शान्ति कायम राख्न आपसी सहिष्णुता, एकता कायम गर्दै समाजमा अवाञ्छित गतिविधि हुन नदिन र गैरकानुनी क्रियाकलापलाई निस्तेज पार्दै कानुनी राज्यको प्रवर्द्धन गर्न नेपाल प्रहरी दृढ संकल्पित रहेको बताउनुभयो । अपराध रोकथाम र शान्ति सुरक्षा कायम राख्न समुदाय र प्रहरीको सहकार्य नै उत्कृष्ट माध्यम हो भन्ने मान्यतालाई मनन् गरी समुदाय(प्रहरी साझेदारी कार्यक्रम लागू गरिएको उहाँले चर्चा गर्नुभयो ।

प्रहरीका हरेक क्रियाकलाप, गतिविधि समाज र आम सञ्चारको दृष्टिबाट लुक्न नसक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘आजको पुलिसिङमा व्यावसायिक, पारदर्शी र नागरिकमैत्री सेवाको विकल्प छैन, व्यवहारमा पारदर्शीता र कानुनी कठोरता हाम्रो कार्यशैली रहनु पर्दछ ।’ निर्भिकतापूर्वक व्यावसायिक धर्म प्रदर्शन गर्दा कुनै पनि अपराध र अपराधीको छिद्रतालाई ध्वस्त पार्न सकिन्छ भने पछिल्लो घटनाले प्रमाणित गरेको उल्लेख गर्दै आफ्नो पदीय जिम्मेवारीलाई महसुस गरी त्यसअनुरुप व्यावसायिक हुन दीक्षित भई जाने प्रहरी निरीक्षकहरुलाई उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले तालिमको साथै पिजीडिपीएस कार्यक्रमबाट प्राप्त ज्ञान, सीप, प्रशासन व्यवस्थापन लगायतका बिषयले जनताको सेवामा अधिकतम प्रयोग हुने चर्चा गर्दै थप विशिष्टिकृत ज्ञान प्रदान गर्ने उद्धेश्यले व्यवस्थापन संकाय अन्तर्गत मास्टर ईन पुलिस साइन्स कोर्स संचालनका लागि त्रिभुवन विश्वविद्यालयबाट प्रतिष्ठानलाई स्वीकृति प्राप्त भईसकेको जानकारी दिनुभयो ।

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । साथै उहाँले तालिम सम्बन्धी जानकारी दिँदै २०७५ असार १८ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ९ महिला सहित कुल ९१ जना प्रहरी निरीक्षकहरु सहभागी भएकोमा सबैजनाले सफलतापूर्बक तालिम हासिल गरेको बताउनुभयो ।

प्रशिक्षार्थीहरुले कवाज प्रदर्शन तथा नेपाल प्रहरी संगीत बिद्यालयद्वारा सांगितीक धुन प्रस्तुत गरिएको उक्त समारोहमा दिक्षित प्रहरी निरीक्षकहरुलाई आ-आफ्ना अभिभावकहरुले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।

दीक्षान्त समारोहमा गृह सचिव प्रेमकुमार राई, गृहमन्त्रीका विज्ञ सुरक्षा सल्लाहकारहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा समादेशकहरु, नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा बरिष्ठ अधिकृतहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीहरुका अभिभावकहरु तथा अन्य आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।