• गृहपृष्ठ
  • रेडियो कान्तिपुरद्धारा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई सम्मान

रेडियो कान्तिपुरद्धारा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई सम्मान

Dec 14th, 2019

काठमाडौं, मंसिर २८

रेडियो कान्तिपुरले वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७६ बाट सम्मान गरेको छ । २१ औं नेसनल म्युजिक अवार्डका अवसरमा रेडियोले यो वर्ष वरिष्ठ गायक प्रधाननलाई सम्मान गरेको हो । सात दशकदेखि नेपाली सांगितिक क्षेत्रमा अनवरत रुपमा लाग्दै आएका प्रेमध्वजले आधुनिक, लोक, भजन, चलचित्र र नेपाल भाषा गरि विभिन्न विधामा सात सय भन्दा वढी गीतमा स्वर र संगित भर्नुभएको छ ।

गायक प्रधानका धुम्तिमा नआऊ है, पर लैजाऊ फुलहरु, तारा मात्र हैन तिमीलाई, जस्ता दर्जनौ गीतहरु अहिले पनि उत्तिकै चर्चामा छन् । वरिष्ठ गायक प्रेमध्वजलाई रेडियो कान्तिपुरले १ लाख रुपैया नगद र ताम्रपत्र सहित सम्मान गरेको हो । प्रधानलाई सम्मान गर्दै कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपाली सांगितिक क्षेत्रका नक्षत्रलाई सम्मान गर्न पाउनु रेडियो र समग्र कान्तिपुर मिडिया गु्रपकै लागि गौरव भएको बताउनुभयो ।

२१ औं वार्षिक उत्सवको अवसरमा रेडियोले सांगितिक क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई समेत नेसनल म्युजिक अवार्डबाट सम्मान गरेको छ । वर्षभरि बजेका गीतहरु मध्येबाट उत्कृष्ट एक जनालाई अर्वाड प्रदान गरेको हो । यो वर्ष पुरुष पाश्व गायनतर्फ बनकी चरी गीतबाट रुपक डोटेल र महिला तर्फ जिन्दगीनै गीतबाट प्रविशा अधिकारी उत्कृष्ट भए । यसैगरि पप तर्फ अलि अलि गीतबाट प्रताप दास र समृद्धि राई म दामी छु गीतबाट उत्कृष्ट घोषित भए । आधुनिक गीततर्फ जिस्काँउथे गीतबाट सुमन कुमार श्रेष्ठ र सम्झनामा नआउ गीतबाट संगिता राना प्रदान उत्कृष्ट भए ।
लोक गीततर्फको अवार्ड यो वर्ष सालको पात टपरी हुनेबाट कलेन्द विश्वकर्माले जिते भने मुखैमा चिनी गीतबाट गायिका सुनिता दुलालले यो वर्ष नेसनल म्युजिक अवार्ड जितिन् ।

यो वर्षको पिपुल्स च्वाईस अवार्ड भने गलवन्दी च्यातियो गीतबाट प्रकाश सपुत र शान्ति श्री परियारले संयुक्त रुपमा प्राप्त गरे । युगलगीत तर्फ यो वर्ष कर्के नजर गीतबाट संजिव पराजुली र टीका प्रसांईले अवार्ड प्राप्त गरे । उत्कृष्ट व्याण्डको अवार्ड भने लाहुरे गीतबाट मन्त्र व्याण्डले जित्यो । उत्कृष्टि म्युजिक निर्देशकको अवार्ड कर्मा ग्याल्जेन बम्जनले बाबाको टोपी गीतबा जिते भने उत्कृष्ट गीतकारको अवार्ड कस्तो हाल गीतबाट विरेन्द्र पाठकले प्राप्त गरे । कस्तो दुरी गीतबाट बिक्रम बरालले नव गायकको उपाधी जिते । राष्ट्रिय गीत तर्फको अवार्ड भने नविर्स है गीतबाट चितमान गुरुङले प्राप्त गरे ।

सांगितिक क्षेत्रका उत्कृष्ट गायक गायिका सर्जक संगै रेडियो कान्तिपुरले वर्षभरि सवैभन्दा धेरै विज्ञापन दिने उत्कृष्ट ३ विज्ञापन ऐजेन्सीलाई समेत सम्मान गरेको छ । उत्कृष्ट एजेन्सीहरु मिडिया सेन्स पहिलो, एड रिलिज दोस्रो र थम्सन नेपाल तेस्रो भएर सम्मानित भए । रेडियो कान्तिपुरको २१ औं वार्षिक उत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा दिपेश किशोर भट्टराई त्रिशला गुरुङ, महेश काफ्ले लगायत चर्चित गायक गायक गायिकाले भव्य सांगितिक प्रस्तुति दिएका थिए ।