• गृहपृष्ठ
  • विमलसहित चार फुटबल खेलाडी कारवाहीमा ,जनही ५० हजार जरिवाना

विमलसहित चार फुटबल खेलाडी कारवाहीमा ,जनही ५० हजार जरिवाना

Dec 14th, 2019

काठमाडौँ, २८ मङ्सिर (रासस)

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ । एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो । उनीहरुलाई जनही रु ५० हजारसमेत जरिवाना गरिएको छ ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने तयारीमा रहेको अवस्थामा ठमेलको लाउन्ज बार गएका चारै खेलाडीलाई कारवाही गरिएको हो । एन्फाले त्यतिबेलै चारै खेलाडीलाई निलम्बन गरेको थियो । एन्फाको अनुशासन समितिले विमल र दिनेशमाथि ९० दिनको तथा अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध लगाएको छ । चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनै पनि प्रतियोगिता खेल्न नपाउने महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । चारै खेलाडीले कुवेतसँगको खेलका साथै १३औँ दक्षिण एशियाली खेलकूद ९साग० गुमाउनु परेको थियो ।