• गृहपृष्ठ
  • अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ

अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ

Dec 13th, 2019

सर्लाही, २७ मङ्सिर (रासस)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक (ज्याला) पाउनुपर्ने बताउनुभएको छ ।

‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उहाँले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराउनुभयो । “अरु देशका श्रमिकले पाउने पारिश्रमिकभन्दा यहाँका श्रमिकले कम श्रम पाउनुहँुदैन, समान पारिश्रमिकका लागि योजना बनाउन लागेको छु,” उहाँले भन्नुभयो ।

यहाँका युवालाई रोजगारीका लागि युरोप र जापान पठाउन पहल भइरहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने व्यक्तिले सीप सिकेर जानुपर्नेमा उहाँको जोड थियो । सीप सिकाउनका लागि सातवटै प्रदेशमा प्रादेशिक तालीम केन्द्र सञ्चालनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । स्वदेशमा भित्रिने विप्रेषणलाई उत्पादनतर्फ कसरी लगाउन सकिन्छ भन्नेबारेमा र विदेशबाट श्रमिकले सिकेर आएको सीपलाई सदुपयोगका विषयमा विभिन्न पक्षसँग छलफल भइरहेको मन्त्री यादवले बताउनुभयो ।