• गृहपृष्ठ
  • चाबहिल–साँखु सडक निर्माण चालू आवभित्रै सम्पन्न गरिने

चाबहिल–साँखु सडक निर्माण चालू आवभित्रै सम्पन्न गरिने

Dec 13th, 2019

काठमाडौँ, २७ मङ्सिर (रासस)

सरकारले विस्तारका लागि चार वर्ष पहिले ठेक्का सम्झौता गरे पनि अझै सम्पन्न नभएको चाबहिल–साँखु सडक निर्माण चालू आव २०७६र७७ भित्रै सम्पन्न गर्ने लक्ष्य लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगै सडकको अवस्थाबारे स्थलगत निरीक्षणमा जानुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक चाँडो सम्पन्न गर्न आफू तत्पर रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नेपालले आफूले पटक–पटक सडकस्थलगत निरीक्षण गर्दै आवश्यक सुझाव दिँदै आएको बताउनुभयो । सडक निर्माणका क्रममा रहेको अवरोध हटाउन आफ्नो तहबाट सहयोग पु¥याउँदै आएको उहाँको भनाइ थियो । सडकमा दुई स्थानमा जोखिममा रहेको पहिरो रोक्न प्रविधिको प्रयोग आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

जनप्रतिनिधिले पनि आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीसँग समन्वय गर्ने र विवाद समाधान गर्ने काम नगरपालिकाका प्रमुख÷उपप्रमुखले गर्नुहोस्, यहाँबाट नहुँदा हामी यहाँका सांसद पनि लाग्छौँ ।”

मन्त्री नेम्वाङले मन्त्रालयले सबै रुग्ण योजना चाँडोभन्दा चाँडो सम्पन्न गर्न चाहेको बताउनुभयो । सबै तहका कर्मचारी त्यहाँका समस्या हटाएर अघि बढ्न तत्पर रहेको उहाँको भनाइ थियो । चार वर्ष पहिले ठेक्का भएर पनि अझै सडक सम्पन्न नहुनुको कारण बुझ्न र सबैसँग छलफलकै लागि आफू यहाँ आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या हटाएर चाँडो निर्माण सम्पन्न गर्न लाग्नुपर्छ ।”

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले सडक निर्माण चाँडो सम्पन्न गर्न सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले निर्माणाधीन सडकमा रहेका पाइप र बिजुलीका खम्बा हटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभा सदस्य मणिराम फुयाँलले सडक निर्माणमा गत वर्षभन्दा प्रगति देखिएको बताउनुभयो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले प्राधिकरणले कुनै पनि ठाउँमा सडक नाप्दा प्रहरीको साथमा गएर मात्रै काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घर नभएका खाली स्थानमा समेत काम अवरुद्ध देखिएकाले कामलाई गति दिन ठेकेदारले जनशक्ति र उपकरण बढाउनुपर्ने बताउनुभयो ।

निरीक्षण टोलीमा प्रदेशसभा सदस्यद्वय फुयाँल, मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त तिवारीलगायत कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी सहभागी हुनुहुन्थ्यो । टोलीले चाबहिल–साँखु र जोरपाटी–सुन्दरीजलको स्थलगत अवलोकनसँगै स्थानीयवासीको रायसमेत लिएको थियो ।