• गृहपृष्ठ
  • अव लोक सेवा आयोगका कर्मचारीलाई सरुवा गर्दा आयोगको सहमती लिनु नपर्ने

अव लोक सेवा आयोगका कर्मचारीलाई सरुवा गर्दा आयोगको सहमती लिनु नपर्ने

Dec 12th, 2019

काठमाडौं २६ मंसिर

राज्य व्यवस्था समितिले लोक सेवा आयोगका कर्मचारीहरुलाई पूर्वसहमति लिएरमात्र सरुवा गर्न पाउने व्यवस्था हटाएको छ ।

हाल लोक सेवा आयोगमा कार्यरत कर्मचारीलाइ नेपाल सरकारले अन्य कार्यालयमा सरुवा गर्दा लोक सेवा आयोगको सहमति लिनु पर्ने व्यवस्था छ । लोक सेवा आयोग ऐनमा भएको व्यवस्था राज्यव्यवस्था समितिले हटाएको हो । यससंगै अव लोकसेवा आयोगको सहमती नलिई सो आयोगका कर्मचारीलाई नेपाल सरकारले सरुवा गर्न पाउने छ ।

विहिबार राज्य व्यवस्था समितिमा ‘लोक सेवा आयोग सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि छलफल भएको थियो । छफफलमा लोक सेवा आयोगका कर्मचारी सरुवा गर्दा पूर्वसहमति लिनुपर्ने व्यवस्था का सम्वन्धमा सांसदहरुविच मत विभाजन भएको थियो ।

सो क्रममा राज्य व्यवस्था समितिको बैठकले लोक सेवा आयोगमा रहेका कर्मचारीलाई सरुवा गर्दा सहमति लिनुपर्ने दफा ६ को उपदफा २ को व्यवस्थालाई हटाइदिएको हो ।

तर आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने कर्मचारीको व्यवस्था नेपाल सरकारले गर्ने व्यवस्था भने हटाइएको छैन ।

सांसदहरु सञ्जय गौतम, विजय सुब्बालगायतले ऐनमा भएकै व्यवस्था विधेयकमा हुनुपर्ने बताएका थिए भने लोक सेवा आयोगका सचिव आनन्दराज ढकालले लोक सेवा आयोगको पूर्वसहमति लिनुपर्ने व्यवस्था हटाउन नहुने मत राखेका थिए ।

यसैगरी पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्मा, नवराज सिलवाल, महेश्वर गहतराज लगायतले भने लोक सेवाका कर्मचारी सरुवा गर्दा लोक सेवाको पूर्वसहमति लिनुपर्ने व्यवस्था हटाउनुपर्ने पक्षमा थिए ।