• गृहपृष्ठ
  • लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर

लोपोन्मुख चराको बासस्थान बन्दै मेचीनगर

Dec 11th, 2019

भद्रपुर, २५ मङ्सिर (रासस)

झापाको मेचीनगर नगरपालिकामा लोपोन्मुख अवस्थामा पुगेका बगाले बगेडी, राज हुट्ट्यिाउँ, राजधनेशलगायत ४०० बढी चराका प्रजाति पाइने गरेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार नेपालको चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पुलगायतका संरक्षित क्षेत्रबाहेक सबैभन्दा बढी प्रजातिका चरा झापाको मेचीनगरमा रहेका छन् ।

विगत चार वर्षदेखि वाइल्ड लाइफ फोटोग्राफीमार्फत चरासम्बन्धी विशेष अनुसन्धान गरिरहनुभएका खरेलले मेचीनगरमा सिमसार क्षेत्र, सामुदायिक वन र पहाडको सीमासँग जोडिएको क्षेत्र धरै भएका कारण चराका प्रजाति बढी पाइने गरेको जानकारी दिनुभयो ।

मेचीनगर–८ जोरसिमलस्थित पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको १०० मिटर सिमसार क्षेत्रमा मात्र ४० प्रजातिका चरा रहेको र पछिल्लो समय पोखरामा मात्र पाइने लोपोन्मुख अवस्थाको पहेँलो बगाले बगेडीसमेत यही क्षेत्रमा पाइएको बताउनुभयो । उहाँले चोरी सिकारीका कारण पहेँलो जातको बगेडी नेपालमा हराइरहेको अवस्थामा यही क्षेत्रमा मात्र पाएको जिकिर गर्नुभयो ।

सो क्षेत्रलाई मेचीनगर नगरपालिकाले चरा संरक्षित क्षेत्र घोषणा गरेर अघि बढ्ने हो भने पर्यटन वर्ष २०२० मा विदेशी पर्यटकलाई पनि तान्न सकिने उहाँको भनाइ छ । दैनिकजसो बिहान ६ बजेदेखि १० बजेसम्म उहाँले नगरमा पाइने चराको तस्वीर, भिडियो र नामको सङ्कलन गर्दै आउनुभएको छ ।

धेरै चरा पाइने देशको सूचीमा नेपाल २२ औँ स्थानमा रहेको बताउँदै खरेलले नेपालमा पाइने ९०० प्रजातिका चरामध्ये झापाको एउटै नगरमा ४०० प्रजातिका चरा पाइनु सामान्य नरहेको बताउनुभयो । उहाँले मेचीनगरलाई चरा मार्न निषेधित क्षेत्र घोषणा गरेर अनुकूल बासस्थान बनाउन स्थानीय सरकारले पहल गर्ने हो भने विदेशी पर्यटक अध्ययन र अवलोकनका लागि ओइरो लाग्ने बताउनुभयो ।