• गृहपृष्ठ
  • नारायणगढ–मुग्लिन सडक दुई सातासम्म दिउँसो बन्द हुने

नारायणगढ–मुग्लिन सडक दुई सातासम्म दिउँसो बन्द हुने

Dec 11th, 2019

भरतपुर, २५ मङ्सिर (रासस)

नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।

यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ । एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।