ओरालो लाग्न थाल्यो सुनको मूल्य

Dec 10th, 2019

काठमाडौँ, २४ मङ्सिर (रासस)

पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले घटेको छ । सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्यमा प्रतितोला रु ५ ले घटेर रु ८३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

गत बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनको मूल्य बिहीबार प्रतितोला रु २००, शुक्रबार रु ३००, आइतबार रु ५०० र सोमबार प्रतितोला रु २०० ले घटेको थियो ।