• गृहपृष्ठ
  • नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक

Dec 10th, 2019

काठमाडौँ, २४ मङ्सिर (रासस)

भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरङ्गकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घका नेता एवं ‘चिनांै सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा सोमबार हजारौं विद्यार्थीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन गरेका हुन् । अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाउँदै नेविसङ्घले वृहद प्रदर्शनसहित नक्शा सार्वजनिक गरेको हो ।

अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौँका विभिन्न विद्यालयमा पुगेर नेपालको वास्तविक नक्शा बनाउन सिकाइएको जानकारी दिनुभयो । नेपालको भूमि मिचिदाँसमेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्शाबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको पनि जानकारी दिनुभयो ।

नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी सङ्घ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै सीमा मिचिँदासमेत सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभयो ।