• गृहपृष्ठ
  • बैदेशिक लगानी फिर्ता लान दुई विदेशी कम्पनीले पाए स्वीकृति, ९ करोड बाहिरिदै

बैदेशिक लगानी फिर्ता लान दुई विदेशी कम्पनीले पाए स्वीकृति, ९ करोड बाहिरिदै

Dec 10th, 2019

काठमाडौं, मंसिर २४

सरकारले अहिले बैदेशिक लगानी बढाएको भन्दै दङ्ग परेको छ । तर बैदेशिक लगानी भित्रने होइन पछिल्लो समय आएको लगानी समेत फिर्ता हुने क्रम बढ्दो छ ।

उद्योेग विभागका अनुसार यो वर्षको तीन महिनामा मंगलम पाइप्स र त्रिशुल ग्यासबाट भारतीय लगानी फिर्ता जान लागेको छ । यि दुई कम्पनीबाट ९ करोड ८३ लाख रुपैयाँ बैदेशिक लगानी फिर्ता जादैछ ।

आर्थिक वर्ष २०७३÷०७४ मा १७ अर्ब ५१ करोड प्रत्यक्ष बैदेशिक लगानी आएकोमा गत वर्ष ७४ प्रतिशतले घटेर १३ अर्ब ६ करोड मात्रै आएको थियो । यो वर्षको तीन महिनामा भने यस्तो प्रत्यक्ष बैदेशिक लगानी १ सय ५८ प्रतिशतले बढेको छ ।

जसलाई सरकारले समेत आफ्नो सफलताको रुपमा देखाउन थालेको छ । यो बिचमा प्रत्यक्ष बैदेशिक लगानी आउने मात्रै होइन यहाँ आइसकेको लगानी पनि बिदेशीने क्रम बढेको छ ।

सोल्टी होटलबाट पनि बेलायती कम्पनी इन्टरकन्टीनेन्टल्स होटल ग्रुप बाहिरिन लागेको छ । लगानी फिर्ताका लागि यसले पनि उद्योग विभागमा एक महिना अघि नै आवेदन दिएको हो । यसले पनि स्वीकृति पाएसँगै थप ७ करोड ३० लाख रुपैयाँ बैदेशिक लगानी फिर्ता जानेछ ।

विदेशी लगानी फिर्ता किन लान लागियो भन्ने बारेमा इन्टरकन्टीनेन्टल्स होटल ग्रुपले विभागलाई कुनै जानकारी भने गराएको छैन । तर विश्लेषकहरु भने लगानी विस्तारका क्रममा भोग्नुपर्ने प्रक्रियागत जटिलता र नाफा आफ्नो देशमा लानका लागि भोग्नुपर्ने कठिनाइका कारण विदेशी लगानी फिर्ता भएको तर्क गर्छन् ।

आर्थिक समृद्धिका लागि स्वदेशको पुँजी मात्रै अपर्याप्त हुने भएपछि सरकारले गत वर्ष देखि बैदेशिक लगानी भित्राउनका लागि विभिन्न कानुन संसोधनको काम अघि बढायो । कानुन संसोधन गर्दैगर्दा गतवर्ष नै बैदेशिक लगानीमा पनि कमि आएको थियो ।

बैदेशिक लगानी भित्राउनेमा जोड दिने मात्रै होइन कि आएको लगानीलाई पनि के कसरी सहजीकरण गर्न सकिन्छ भनेर सोच्न जरुरी छ ।