• गृहपृष्ठ
  • पौडीमा गौरिकाको अर्को कीर्तिमान, दिलाइन् चौथो स्वर्ण

पौडीमा गौरिकाको अर्को कीर्तिमान, दिलाइन् चौथो स्वर्ण

Dec 9th, 2019

काठमाडौँ, २३ मङ्सिर (रासस)

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले कीर्तिमान बनाएकी छिन् । उनले आज कीर्तिमानी चौंथो स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी शिवाङ्गी शर्माले रजत जितिन् । उनले उक्त दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरिन् । गौरिकाले एउटै सागमा चार स्वर्ण जितेर कीर्तिमान बनाएकी हुन् ।

यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल तथा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् । उनले सागमा नेपालका लागि सर्वाधिक चार स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेकी छिन् । दीपकले सागको चार संस्करणमा चार स्वर्ण जितेका थिए भने गौरिकाले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै इतिहास बनाइन् । उनले दुई रजत र दुई कास्य पदकसमेत जितेकी छिन् ।