• गृहपृष्ठ
  • बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु

बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु

Dec 9th, 2019

चितवन, २३ मङ्सिर (रासस)

बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण शुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका–२ मा कृषि प्रवद्र्धन बजार विकास प्रालिले सञ्चालन गरेको महानगर फलफूल तथा तरकारी बजारमा प्रयोगशाला स्थापना गरिएको हो । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार प्रयोगशालामा परीक्षण थालिएको छ । केही दिनमा औपचारिक उद्घाटन गरी नियमित परीक्षणसमेत गरिने उहाँले जानकारी दिनुभयो ।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफूलका दैनिक आठ÷दशवटा फरक–फरक ठाउँबाट नमूना लिएर परीक्षण गर्नेछ । एउटा परीक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ । परीक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाइने छ ।

ढकालका अनुसार यो विधिलाई ‘स्टेक्टोफोटो मिटर’ भनिन्छ । यसमा ३५ प्रतिशतभन्दा कम देखिएमा खानयोग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ र ४५ प्रतिशतभन्दा बढी भएमा अखाद्य मानिन्छ ।

प्रारम्भिक रुपमा गरिएका परीक्षणमा बोडी र भेण्टामा बढी विषादी पाइएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारको उपकरण, कृषि प्रवद्र्धन बजार विकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक रसायनसँगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गरेका हुन् ।

फलफूल तथा तरकारीको परीक्षण हुने भएकाले कम विषादी प्रयोग गर्न कृषकलाई भनिएको महानगर फलफूल तथा तरकारी बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार बजारमा दैनिक १५० टन तरकारी र ५० टन हाराहारी फलफूल आउने गर्दछ । चीन र भारतबाट पनि यहाँको बजारमा फलफूल र तरकारी आउँछ ।