• गृहपृष्ठ
  • विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध

विद्यार्थीलाई कुटपिट गरिएको भन्दै नेविसङ्घको विरोध

Dec 9th, 2019

काठमाडौँ, २३ मङ्सिर (रासस)

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ काठमाडौँ शाखाले कोहलपुर घटनाको विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ काठमाडौँ जिल्ला शाखाले आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको विरोधमा आज पशुपति क्याम्पस चावहिल अगाडि प्रदर्शन गरेको हो ।

पशुपति क्याम्पसबाट शुरु भएको विरोध ¥याली चावहिल चोक परिक्रमा गरेर पशुपति क्याम्पसमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएका विद्यार्थीलाई सरकारले निःशुल्क उपचार गर्नुपर्ने बताउनुभयो । “विद्यालयको पोसाक लगाएका विद्यार्थीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

आइतबार बिहान ट्रकले ठक्कर दिएर कक्षा ७ मा अध्ययनरत प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रेका थिए । ट्रकको ठक्करबाट गम्भीर घाइते चन्दको हाल ललितपुरको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।