आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 9th, 2019

काठमाडौं, मंसिर २३

काठमाडौं महानगरपालिका २६ ठमेल नर्सिङ चोकस्थित चेङ्दु होटलको भान्छा कोठामा बिद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा भान्छा कोठा र स्टोररुममा रहेका बिभिन्न सामानहरु जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी ललितपुरको गोदावरी नगरपालिका १३ झरुवाराशीस्थित पर्सा वीरगंज घर भएका ४१ वर्षीय महेश साहको टहरामा रहेको बा. ९३ प ६६१ नम्बरको मोटरसाइकलमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल साथै ग्याँस सिलिण्डर ३ थान, भाँडावर्तन, कपडाहरु र टहरा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ५ स्थित जिल्ला कारागार कार्यालय प्रमुख बस्ने निवास र कार्यालय समेत रहेको जस्ताको तीन कोठे ट्रसको भवनमा करेन्ट सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा कार्यालयका फर्निचर, सामान र घर पूर्णरुपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका १३ रुघा बस्ने बिर्ख लावड र ज्वाला लावडको घरमा आइतबार दिउँसो आगलागी हुँदा दुवैजनाको घर तथा घरभित्र रहेका लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ५ खरुक्याही बस्ने मोहमद ईनुस मियाको घरमा आइतबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो निभाउने क्रममा घाइते भएका छिमेकी २५ वर्षीय नवसाद अंसारीलाई उपचारको लागि लहानतर्फ पठाइएको छ ।

पर्साको वीरगंज महानगरपालिका २७ जसौली गाउँ बस्ने हरेन्दर महत्तो कोईरीको २ वटा कुखुरा फर्ममा आइतबार राति आगलागी हुँदा फर्म तथा पार्किङ गरी राखेको ना.२ प ६०२ नम्बरको मोटरसाइकल र २ वटा साइकल पूर्णरुपमा जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कास्की, पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने ६४ वर्षीय बिनोद गुप्ताको मोटरसाइकल ग्यारेज र कोठामा बिद्युत सर्ट भई आइतबार साँझ आगलागी हुँदा ग.६ प ३९३३ नम्बरको स्कुटर र ग.११ प ११७५ नम्बरको मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएका छन् । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।