• गृहपृष्ठ
  • भारतले प्याज निर्यात प्रतिबन्ध गर्दा नेपाललाई ११ करोड नाफा, मकै खरिदका लागि ३ अर्ब ८१ करोड रुपैयाँ बाहिरियो

भारतले प्याज निर्यात प्रतिबन्ध गर्दा नेपाललाई ११ करोड नाफा, मकै खरिदका लागि ३ अर्ब ८१ करोड रुपैयाँ बाहिरियो

Dec 9th, 2019

काठमाडौं, मंसिर २३

भारतमा मागको तुलनामा प्याजको उत्पादन कम भएपछि मूल्य ह्वात्तै आकासिएको छ । जसका कारण सरकारले निर्यातमा प्रतिबन्ध लगाएको छ । तर भारत सरकारको यस्तो प्रतिवन्धका कारण नेपाललाई भने ११ करोड नाफा भएको छ ।

कृषि मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा १ अर्ब ५९ करोड रुपैयाँको प्याज आयात भएको छ । जुन गत वर्षको तुलनामा ११ करोड कम हो ।

त्यसैगरि यो वर्षको चार महिनामै मुलुकले कृषिजन्य बस्तुको आयात निर्यातमा २४ अर्बको ब्यापार घाटा खेप्नु परेको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार यो वर्षको चार महिनामा २७ अर्बको कृषिजन्य बस्तुको आयात भएको छ । आयातको तुलनामा न्युन अर्थात जम्मा ३ अर्बको मात्रै कृषिजन्य बस्तुको निर्यात भएको छ ।

त्यसैगरि चीन र भारतबाट आयात हुने आलुमा पनि केहि कमि आएको छ । अघिल्लो वर्षको ४ महिनामा ३ अर्ब ११ करोड रुपैयाँको आलु आयात भएकोमा यो वर्षको सोहि अवधिमा ३ अर्ब ८४ करोड रुपैयाँ बाहिरिएको छ ।

मन्त्रालयका अनुसार अघिल्लो वर्ष २ अर्बको आयात भएको गहुँ यो वर्षको चार महिनामा ४८ करोडको मात्रै आयात भएको छ ।

अलैंची, चिया, अदुवा, कफी र ताजा तरकारीको निर्यात गर्ने बस्तुको सूचिमा अग्रस्थानमा रहेका छन् । त्यसैगरि खाने तेल, धान, आलु, मकै, प्याज, गहुँ, ताजा तरकारी, स्याउ, केरा भने आयात गर्ने बस्तुको सूचिमा अग्रस्थानमा रहेका छन् ।

देश कुखुरा र अण्डामा आत्मनिर्भर भएको बताउने गरिन्छ । आँकडालाई मात्रै केलाउने हो भने यो केहि हदसम्म सत्य पनि हो । तर कुखुराको दानामा प्रयोग हुने अधिकांश गेडागुडी तथा अन्न बिदेशबाटै आयात हुने गरेको छ । कुखुराको दानामा प्रयोग हुने मकै खरिदका लागि यो वर्षको ४ महिनामा ३ अर्ब ८१ करोड रुपैयाँ बाहिएिको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिमा भन्दा ४५ करोड रुपैयाँले बढी हो । नेपालमा पर्याप्त उत्पादन नभएपछि ब्राजिल, अर्जेन्टिना लगायतबाट आयात भएको मकै प्रयोग हुन्छ ।

सिँचाइ, अनुदान र नीतिका कारण मुलुक कृषिमा परनिर्भर बन्दै गएको छ । जसको समय सापेक्ष संसोधन गर्नु जरुरी छ । साथै कृषिको अनुदान कृषकको नाममा कार्यकर्ता र कर्मचारीको हातमा परेको छ ।

मुलुकभर ३८ लाख घरधुरी किसान छन् । तर देशको कृषिको अवस्थमा भने माथि उठ्न सकेको छैन । युवा जति खाडी मुलुकमा कामको खोजिमा गएका छन् । र, उनिहरुले पठाएको रकमबाट देशमा विभिन्न बस्तुको आयात गर्ने गरिएको छ ।