• गृहपृष्ठ
  • नारायणगढ–बुटवल सडकखण्ड समयमै सकिन्छ : मन्त्री नेम्वाङ

नारायणगढ–बुटवल सडकखण्ड समयमै सकिन्छ : मन्त्री नेम्वाङ

Dec 8th, 2019

कावासोती, २२ मङ्सिर (रासस)

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड समयमा नै सक्ने गरी अगाडि बढ्ने बताउनुभएको छ ।

उहाँले पूर्वपश्चिम राजमार्ग विस्तारको पहिलो खण्डका रुपमा रहेको नारायणगढ– बुटवल सडकखण्डलाई विषेश प्राथामिकता दिएर निर्माणको काम समयमा नै सक्ने गरी कार्य अगाडि बढाउने बताउनुभयो । नवलपरासी पूर्वनवलपुरको सदरमुकाम निर्माणस्थलको अवलोकनका क्रममा मन्त्री नेम्वाङले योजनाले गति लिन केही ढिलाइ भएको भए पनि अब द्रुतगतिमा निर्माणको काम अगाडि बढ्ने जानकारी गराउनुभयो ।

रुख कटान लगायतका केही समस्याले गर्दा कामले गति लिन नसकेको भए पनि सबै समस्या सकिएकाले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम दु्रत गतिमा अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई समेत काम द्रुत गतिमा सञ्चालन गर्नका लागि निर्देशन दिएको जानकारी दिनुभयो ।

सदरमुकाम निर्माणस्थलमा कार्यालय निर्माणमा बजेटको अभाव नभएको तर डिपिआर तयार गर्न ढिला हुँदा काम अगाडि बढ्न नसकेको सांसद तिलक महतले बताउनुभयो । डिपिआर बनाउने काम अन्तिम चरणमा रहेकाले चाँडै नमुना सदरमुकाम निर्माणको काम अगाडि बढ्ने उहाँले जानकारी गराउनुभयो ।