गौरीकाको कीर्तिमानसँगै स्वर्णपदक

Dec 8th, 2019

काठमाडौँ, २२ मङ्सिर (रासस)

पौडीबाज गौरीका सिंहले तेह्रौैँ दक्षिण एशियाली खेलकूद (साग) मा अर्को स्वर्णपदक हात पार्नुभएको छ । सातदोबाटोस्थित पौडी पोखरीमा आज भएको खेलमा गौरीकाले ४०० मिटर फ्रिस्टाइलमा निर्धारित दुरी चार मिनेट २५.२८ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक हासिल गर्नुभएको हो । उहाँले भारतकी खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नेपाललाई स्वर्ण दिलाउनुभएको हो ।

यससँगै उहाँले सागको एकै संस्करणमा तीन स्वर्णपदक जित्ने नयाँ कीर्तिमानसमेत कायम गर्नभएको छ । यसअघि उहाँले २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर रिलेमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । त्यसैगरी शिवांगीले निर्धारित दुरी चार मिनेट २६.२२ सेकेन्ड समय लगाउँदै पूरा गर्नुभयो । तेस्रो स्थान हासिल गरेकी श्रीलङ्काकी रामुदी नुदाराले चार मिनेट ४१.९१ सेकेन्डमा दुरी पूरा गर्नुभयो ।