• गृहपृष्ठ
  • कोहलपुर दुर्घटनामा गम्भीर घाइते भएकी बालिका प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगियो

कोहलपुर दुर्घटनामा गम्भीर घाइते भएकी बालिका प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगियो

Dec 8th, 2019

बाँके, २२ मङ्सिर (रासस)

कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कर्फ्यू लगाइएको छ । अहिले ३ः०० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुरमा कफर््यु लगाउने निर्णय गरेको हो । कोहलपुरको उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागू हुनेगरी कर्फ्यू लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार कोहलपुरको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । स्थिति सामान्य बनेपछि हटाउने निर्णय भएको छ । कर्फ्यू आदेश जारी भएसँगै काहलपुर क्षेत्र सुनसान बनेको छ । यस्तै दुर्घटनामा गम्भीर घाइते कोहलपुर नगरपालिका–१० की बालिका प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बालिकालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ भने अन्य घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनमा उत्रिएका विद्याथीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनीसमेत गरेका थिए । झडपमा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते हुनुभएको छ । कर्फ्यू आदेश जारी भएसँगै कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीले संयमता अपनाउन अपील गरेका छन् । थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपिल गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिनुभयो । उहाँले कोहलपुरलाई थप क्षति हुनबाट जोगाउन संयमता अपनाउनुको विकल्प नभएको बताउनुभयो ।

त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा कक्षा ७ मा अध्ययनरत बालिका चन्दको ट्रकले ठक्कर दिएपछि तनाव उत्पन्न भएको थियो । आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो । विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।