• गृहपृष्ठ
  • भारोत्तोलनमा नेपाललाई थप एक एक रजत र कास्य

भारोत्तोलनमा नेपाललाई थप एक एक रजत र कास्य

Dec 8th, 2019

चिप्लेढुङ्गा,२२ मङ्सिर (रासस)

तेह्रौँ साग भारोत्तोलनअन्तर्गत नेपाल पदक तालिकामा थप एक एक रजत र कास्य थप्न सफल भएको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल हुनुभयो ।

यस्तै १०९ प्लस तौल पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गर्नुभएको थियो ।

नेपालका लागि रजत जित्नुभएका भण्डारीले राष्ट्रिय रेकर्डसहित रजत जित्नुभएको हो । उहाँले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाउनुभयो । सागको छनोट चरणमा आफ्नो नामको तीनै विधाको रेकर्ड १३ औंँ सागमा उहाँले भङ्ग गरेको जानकारी नेपाल भारोत्तोलन सङ्घका प्रवक्ता रुकेश तण्डुकारले जानकारी दिनुभयो ।

प्रतियोगितामा बङ्गलादेशका मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाउनुभयो । उहाँले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाउनुभएको थियो ।

आज नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाउनुभएको थियो । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।

यस्तै श्रीलङ्काली डब्लु पीयु चरुकाले रजत पदक जित्नुभएको छ । उहाँले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकारले कुल २७५ तौल उठाए । उहाँले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गर्नुभयो । नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन् । पुकारका लागि स्न्याच विधामा राष्ट्रिय रेकर्ड हो । सो स्पर्धामा बङ्गलादेशका खेलाडी चौथो भए ।

बीस स्वर्णसहित कुल ६० पदकका लागि महिला तथा पुरुषतर्फ दश दश वेट क्याटागोरीमा भएको खेलमा नेपालले कुल १६ क्याटागोरीमा भाग लिएको थियो । सबै इभेन्टमा नेपालले पदकविहीन हुनुपरेन । यसरी साग भारोत्तोलनमा नेपालले दुई स्वर्ण, तीन रजत र ११ कास्य पदक जित्दै यात्राको सुखद् अन्त्य गरेको छ ।