भरियाबाट गाउँपालिका अध्यक्षसम्म

Dec 8th, 2019

– रवीन्द्र काफ्ले फिदिम, २१ मङ्सिर (रासस)

नेपाली कांग्रेसको आधारक्षेत्र मानिएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ निर्वाचित भएपछि उहाँको चर्चा चुलिएको छ । यही मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेलाई ८०६ मतान्तरले पराजित गर्दै कुरुम्बाङ गाउँपालिका अध्यक्ष चुनिनुभएको थियो । नेकपाका जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहनुभएका कुरुम्बाङ एक उद्योगीसमेत हुनुहुन्छ । तर अध्यक्ष कुरुम्बाङको सङ्घर्षशील विगत भने निकै दुःखद र पीडादायी छ ।

विसं २०२४ वैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा स्व बुबा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराका रूपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको हो । तीन बहिनी, एक भाइका दाजु कुरुम्बाङले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । विसं २०५२ मा तत्कालीन नेकपा (एमाले)बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

नरबहादुर कुरुम्बाङ छ वर्षको हुँदा बुबाको निधन भयो । बुबाको निधनपछि आमाले पनि छोडेपछि नरबहादुर अरूको घरमा बसेर, सरसहयोग गरेर हुर्किनुभयो । नरबहादुर ठूलो भएपछि गोरु व्यापार गर्नेहरुलाई सघाएर जीवन चलाउनुभयो । क्रमशः दुई/चार पैसा कमाउनुभयो अनि घरगृहस्थीमा प्रवेश गर्नुभयो । उनै नरबहादुर नवनिर्वाचित अध्यक्ष वीरबहादुर कुरुम्बाङका बुबा हुनुहुन्थ्यो ।

वीरबहादुर आफ्नो जीवन बाल्यकालदेखि नै सङ्घर्षबाट अघि बढेको बताउनुहुन्छ । “वास्तवमा म शून्य अवस्थाको मान्छे थिएँ । न राम्रोसँग पढ्ने अवसर मिल्यो, न त खाने लगाउने अवसर नै”, अध्यक्ष कुरुम्बाङले आफ्नो विगत सम्झँदै भन्नुभयो । उहाँका सहपाठी रहनुभएका संविधानसभा सदस्य ध्रुवराज आङ्देम्बे वीरबहादुरको बाल्यकाल सम्झँदै भन्नुहुन्छ, “वीरबहादुर विद्यालयमा एकदमै सानो, कमजोर तर चलाख विद्यार्थी हुनुहुन्थ्यो । सधैँ केही नयाँ काम गरौँ भन्ने, साथीभाइसँग कहिल्यै झैझगडा नगर्ने, साह्रै इमान्दार र निःस्वार्थी प्रकारको मान्छे ।”

घरको जेठो छोरो । बुबा रोगी र परिवार चलाउन सहयोग गर्नुपर्ने बाध्यता । ग्रामीण विपन्न जीवन । कुरुम्बाङको जीवन सङ्घर्षको मैदानमा पौँठेजोरी खेलेरै अघि बढिरहनुपर्ने थियो । वीरबहादुरले आफूलाई यथास्थितिमा राख्न सक्नुभएन । चलाख मानिस भएका कारण उहाँले सधैँ नयाँनयाँ कुराको खोजी गर्नुभयो । विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा झुकाव राख्नुभएका उहाँले कसरी आफ्नो जीवन सहज बनाउने भन्नेतर्फ सोच्नुभयो ।

अध्यक्ष कुरुम्बाङले दुई वर्ष भारी बोकेर आफ्नो जीवन चलाउनुभयो । “विसं २०४० आसपासमा मोरङको मधुमल्ला र झापाको दमकबाट मट्टितेल बोकेर ल्याउँथे । पाँचथरको घुर्विसेपञ्चमी, नवमीडाँडा र यासोकमा मट्टितेल बेच्थेँ । यहाँ हाटबजार लाग्थ्यो । अनि दुई/चार पैसा आम्दानी गरेर परिवार चलाउथेँ”, कुरुम्बाङले आफ्नो विगत सम्झँदै भन्नुभयो । यसरी भारी बोकेर उहाँले दुई वर्ष बिताउनुभयो । त्यसपछि उहाँले व्यापार, व्यवसायमा हात हाल्नुभयो । दश वर्षभन्दा बढी समय उहाँले खसी, गोरुलगायत पशुचौपायाको व्यापारमा जीवन बिताउनुभयो ।

पहाडका सबै कुनाकन्दराको दुःख र पीडा सहेर आजको वीरबहादुर बन्यो । सङ्घर्षको कथा अझै सकिएन । सडक विस्तार हुन थालेपछि उहाँले ट्र्याक्टर किनेर चलाउन पछि पर्नुभएन । अरू व्यापार व्यवसायबाट आम्दानी गर्दै उहाँले २०५७ सालमा ट्रक लिनुभयो । केही समय उहाँले ट्याक्सी पनि चलाउनुभयो । “मैले धेरै दुःख गरेर आर्थिक अवस्था उठाएपछि सबै कामको अनुभव लिनुपर्छ जीवनमा भन्ने सोचले सकेसम्म र भ्याएसम्म सबै काम गरेँ”, कुरुम्बाङले आफ्नो सङ्घर्षपूर्ण जीवन सम्झँदै भन्नुभयो ।

यसपछि उहाँले काठको गोलियाको व्यापार थाल्नुभयो । गोलियाको व्यापारबाट आर्थिक अवस्था सुधार गरेपछि उहाँले भेनियर उद्योग स्थापना गर्नुभयो झापामा । बुबालाई सघाउन छोराहरु पनि सक्षम भइसकेका थिए । उहाँकी श्रीमती रणमायाले गाउँमा व्यापार चलाउनुहुन्थ्यो । यो परिवारको अर्को यात्रा शुरु भयो प्लाइउडको उद्योग स्थापना गरेर । यही उद्योगले कुरुम्बाङ परिवारलाई उद्योगी बनायो ।

जहाँ पुगे पनि र जे गरे पनि पार्टीको सङ्गठित सदस्यता लिँदा खाएको शपथ जस्तै वीरबहादुरले मुलुकको परिवर्तन र आफूजस्तै शून्यबाट उठेका र शून्यमा रहेका निमुखाको पक्षमा बोल्ने उनीहरुको हित गर्ने पार्टीमा सक्रिय हुन पनि छाड्नुभएको थिएन । गाउँ कमिटीबाट उठ्दै गएको कुरुम्बाङको यात्रा तत्कालीन नेकपा (एमाले) को जिल्ला सचिवालय सदस्य र हालको नेकपाको जिल्ला सचिवालय सदस्यमा पुगेको छ ।

स्थानीय तहको पहिलो निर्वाचनमा आफू पहिलो हुन नसकेको स्वीकार्दै पराजित भएर पनि गाउँपालिकाको विकासमा कहिल्यै पछि नसरेको उहाँ बताउनुहुन्छ । गाउँपालिकामा उहाँलाई अध्यक्ष पदमा निर्वाचित गर्नुमा अघिल्लोपटक पराजय भएपछि झन् सक्रियताका साथ खट्नुलाई स्थानीय मतदाता खास कारण ठान्छन् । कुरुम्बाङ विकास योजनाको फाइल लिएर ‘गाउँपालिकाका जनताले पानी खान पाएनन्, बिजुली पाएनन्, सडक पुगेन’ भनेर प्रदेश राजधानी विराटनगर र केन्द्रीय राजधानी काठमाडाँै धाउनुभएको थियो ।

उहाँको निरन्तरको जनसेवाले अढाई वर्षमै जनताको मन जित्यो र गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभयो । तीन छोरा र एक छोरीका पिता कुरुम्बाङ सरल, मिजासिलो, साहसी र सङ्घर्षशील नेताका रूपमा स्थापित हुनुहुन्छ । कुरुम्बाङलाई निक्कै ‘सशक्त’ नेतृत्वका रूपमा हेरिन्छ । उहाँले निर्वाचनका क्रममा सबैलाई मिलाएर लैजाने बताउँदै आउनुभएको छ । भ्रष्टाचार, बेथिति, विकास निर्माण र सेवा प्रवाहमा रहेको ढिलासुस्ती अन्त्य गर्ने उहाँको प्रतिबद्धता छ । स्थानीयवासीको आयआर्जन वृद्धि, गरिबी निवारण, सहज एवं उत्तरदायी सेवा प्रवाह र पूर्वाधार निर्माणमा विशेष जोड दिने कुरुम्बाङको योजना छ ।