अमेरिका–तालिबान वार्ता पुनः शुरु

Dec 8th, 2019

दोहा, २२ मङ्सिर (राससरएएनआई)

संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि पुनः वार्ता शुरु भएको छ ।

टोलो न्यूजले एक स्रोतलाई उद्धृत गर्दै दोहामा वार्ता शुरु भएको बताएको छ । स्रोतले अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार गर्नेतर्फ वार्ता केन्द्रित भएको जनाएको छ ।

हालैमात्र, अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले काबुलको दुई दिने भ्रमण गर्नुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले अफगान अधिकारीहरु र प्रमुख राजनीतिक नेताहरुसँग भेटघाट र विचार विमर्श गर्नुभएको थियो । उहाँले पूर्व राष्ट्रपति हमिद कारजाईसँग समेत भेट गर्नुभएको थियो ।

अमेरिका र तालिबानबीच दोहामा यसअघि नौ चरणमा वार्ता भएका थिए र एउटा सम्झौतामा हस्ताक्षर हुनेक्रममा एकाएक वार्ता रद्द गरिएको थियो ।

काबुलमा तालिबान समूहले गरेको आत्मघाती आक्रमणमा एक अमेरिकी सैनिक समेत केही विदेशी र अफगानीहरुको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच जारी वार्ता रद्द भएको घोषणा गर्नुभएको थियो ।