• गृहपृष्ठ
  • महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि ‘खुशीको सीमा रहेन’ :अञ्जली चन्द

महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि ‘खुशीको सीमा रहेन’ :अञ्जली चन्द

Dec 8th, 2019

– कृष्ण दवाडी
कास्की, २२ मङ्सिर(रासस)

नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राख्नुभएको थिएन । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक/दुई विकेट लिने मात्र उहाँको लक्ष्य थियो ।

तर साग प्रतियोगिताले उहाँलाई विश्वस्तरमा चिनायो । माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि स्वदेश तथा विदेशमा समेत उहाँको चर्चा शिखरमा पुगेको छ । सुदुरपश्चिमको बैतडी दशरथचन्द नगरपालिकाका चन्दले माल्दिभ्सविरुद्धको लिग चरणको पहिलो खेलमा दुई दशमलव एक ओभर बलिङमा कुनै रन नदिई छ विकेट लिएपछि उहाँले विश्व कीर्तिमान कायम गर्नुभएको हो ।

त्यस्तै चन्दले शनिबार पोखरा रङ्गशालामा कास्य पदकका लागि माल्दिभ्सविरुद्ध नै भएको स्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गर्न सफल हुनुभयो । ‘प्लेयर अफ दी म्याच’ बन्न सफल उहाँले आफ्नो चार ओभरको बलिङमा जम्मा एक रन खर्चेर चार विकट लिनुभएको थियो । प्रतियोगितामा उहाँले ११ विकेट लिन सफल हुनुभयो ।

कीर्तिमानी चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउनुहुन्छ । केही वर्षको अन्तरालपछि टोलीमा स्थान बनाएकाले पनि खेलमा ठूलो सपना नराखेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मलाई यति ठूलो सफलता मिल्छजस्तो लागेको थिएन । स्पर्धामा ह्याट्रिक गरेँजस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुशीको सीमानै रहेन ।”

सन् २०१५ वैवाहिक जीवनमा बाँधिएपछि उहाँ क्रिकेटबाट केही वर्ष टाढा हुनुभयो, तर क्रिकेटप्रतिको मायाले उहाँलाई छाडेन । घरपरिवारको साथ, सहयोग र हौसलाले गत असोजमा सम्पन्न ‘वुमन्स क्रिकेट लिग’ बाट उहाँ पुनः क्रिकेटमा फर्किनुभयो । त्यस प्रतियोगितामा समेत चन्दले राम्रो छाप छाड्न सफल हुनुभएको थियो ।

कक्षा ८ मा पढ्दादेखि नै उहाँले क्रिकेट खेल्न शुरु गर्नुभएको थियो । खेलकूदमा बाल्यकालदेखिनै उहाँमा रुचि थियो । “गाउँमा दाइहरूले क्रिकेट खेलेको देखेको थिएँ । एक दिन दाईले केटीहरूको खेल छ, तिमी जान्छौँ भन्नुभयो म गएँ । त्यसपछि मलाई क्रिकेटप्रति रुचि बढ्न थाल्यो”, उहाँले शुरुआती दिनहरू स्मरण गर्नुभयो ।

सागमा समेत टोलीले स्वर्ण पदकको सपना देखेको थियो । घरेलु मैदानमा राम्रो क्रिकेट खेलेर स्वर्ण नै जित्ने लक्ष्य रहे पनि त्यो पूरा नभएकामा उहाँ दुःखी हुनुहुन्छ । सागमा नेपाल कास्य पदकमा सीमित भए पनि सन् २०२० मा हुने विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई खुशी दिने उहाँको सपना छ ।

टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग स्पर्धा गर्दा लक्ष्य पूरा नभएको बताउँदै उहाँले थप्नुभयो, “टोलीमा गोल्ड ल्याउने नै सबैको सपना थियो । टेष्ट राष्ट्रसँग खेल्दा कठिन भयो । महिला क्रिकेटमा सरकारले जति सहयोग गर्दछ, त्यति नै राम्रो हुन्छ । देशका लागि सधैँ राम्रो गर्ने ध्यानमा हुनेछौँ ।”

महिला क्रिकेटलाई राज्यले त्यति प्राथमिकता नदिएको उहाँको बुझाइ छ । खेलाडीलाई सेवासुविधा तथा महिला क्रिकेटका समेत घरेलु लिग सञ्चालन गर्न सकेको खण्डमा नयाँ र राम्रा खेलाडी उत्पादन भएर देशलाई फाइदा पुग्ने विश्वास उहाँको छ ।