• गृहपृष्ठ
  • कमलादीमा बन्ने भयो दक्षिण एसियामै पहिलो ‘स्काइवाक’ टावरः तीन मन्त्रीले गरे शिलान्यास , पर्यटन र मनोरञ्जनका लागि गन्तव्य बन्ने आयोजकको दाबी

कमलादीमा बन्ने भयो दक्षिण एसियामै पहिलो ‘स्काइवाक’ टावरः तीन मन्त्रीले गरे शिलान्यास , पर्यटन र मनोरञ्जनका लागि गन्तव्य बन्ने आयोजकको दाबी

Dec 8th, 2019

काठमाडौ, मंसिर २२
राजधानी काठमाडौंस्थित कमलादीमा दक्षिण एसियामै पहिलो ‘स्काइवाक’ टावरको शिलान्यास भएको छ । नेपाली भवन ढाँचा अनुसार झन्डै २८ तले उचाइ रहने उक्त टावरको शिलान्यास उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहित संस्कृति नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका साथै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् । शिलान्यास समारोहमा पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेस नेता डा रामशरण महत पनि सहभागी थिए । टावर शिलान्यास समारोहमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले समयमै टावर निर्माण सम्पन्न भएर आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्यका रुपमा विकास हुने आशा व्यक्त गरे । रक्षामन्त्री पोखरेलले टावरको अवधारणा ल्याउँदा सुरुका दिनमा आफूलाई विश्वासै नलागेको तर, आज आउँदा आउने १८ महिनामै निर्माण सम्पन्न हुने योजना सुनेपछि आफू आशावादी समेत रहेको बताए ।

उनले भने, ‘नेपालमा अक्सर नयाँ कुरामाथि विश्वास गरिहाल्ने संस्कृति पनि छैन । सुरुमा उहाँहरुले ल्याएको अवधारणामाथि मलाई पनि शंका भयो । जब उहाँहरुले यसको प्राविधिक, वैज्ञानिक पाटो सहित संरचनागत योजनाको प्रस्तुति नै दिएर बुझाउनु भयो, त्यसपछि सपना देख्ने युवाहरुले नै मुलुक बदल्ने हुन् भन्ने ठाउँमा म विश्वस्त भएको छु ।’

विशिष्ट अतिथिका रुपमा कार्यक्रममा सरिक भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसखाले टावरहरु समयमै सम्पन्न हुँदा नेपालको पर्यटन उद्योगमा नयाँ आयाम थपिने बताए ।मन्त्री भट्टराईले भने, ‘सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । यसखाले नयाँ नयाँ गन्तव्य हामीले खोजी रहेका पनि छौं । यो पर्यटन उद्योगका लागि नयाँ आयामयुत संरचना त हुने नै छ, मलाई विश्वास छ स्काइवाक टावर नेपालको इन्जिनियरिङ शिक्षामा समेत ब्रेक थ्रु गर्ने र नेपालमा भइरहेको भवन र टावर निर्माणको पुरानो युगलाई समेत नयाँ ठाउँमा पुराउने छ ।’

कार्यक्रममा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको समेत उपस्थिति थियो । मुख्यमन्त्री राईले यसखाले नयाँ नयाँ भिजनहरु ऋाफूले समेत स्वागत गर्ने बताए । उनले आफ्नो प्रदेशमा पनि यस्ता खाले भिजनहरु ल्याउन युवा इन्जिनियरहरुलाई आह्वान समेत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा महतले आफू यो कन्सेप्टको टावरको सुरुको प्रस्तुतिमा समेत सरिक भएकाले युवाहरुले ल्याएको उक्त कन्सेप्टको समर्थनमा आफू रहेको बताए ।

नेता महतले विदेशमा मात्र रहने गरेका यस्ता संरचनाहरु विदेश गएर पढेका अनुभव सँगालेका नेपाली युवाहरुले मुलुकमै केही गरौं भन्ने अठोट सराहनीय समेत रहेको बताए । डा महतले भने, ‘उहाँहरुले सुरुका दिनमा स्काइवाक टावरको प्रिजेन्टेसन दिँदा पनि म आफू सरिक भएको थिएँ । कन्सेप्ट ल्याएको वर्ष दिनभित्रै जग शिलान्यास गर्ने ठाउँसम्म उहाँहरु आइपुग्नुले उहाँहरुको ऊर्जा र कार्यक्षमतालाई देखाउँछ । यो परियोजना समयमै सम्पन्न भएर सञ्चालनमा आउँदा यसले अर्थतन्त्रमा समेत सकारात्मक असर पार्ने छ भन्नेमा म विश्वस्त छु ।’

कर्यक्रमको अध्यक्षता गर्दै टावरको अवधारणा, लागत र निर्माणबारे वन्डर्स नेपाल प्रालिका अध्यक्ष आकर्षण पोखरेलले स्पष्ट पारेका थिए । १३.२ रोपनी जग्गा भएको कमलादी जतिको काठमाडौंको केन्द्रमा बन्ने उक्त परियोजना नेपालमै नयाँ प्रविधिको परियोजना रहेको परियोजना व्यवस्थापन निर्देशक इन्जिनियर सञ्जीव रोकाहाले बताए । उनका अनुसार परियोजनाको कूल लागत २ सय करोड लाग्ने अनुमान गरिएको छ जुन स्काइवाक भ्यू टावर आउने १८ महिना भित्र सञ्चालनमा आउने गरी निर्माण हुने छ ।

टावर पूर्णरुपमा स्टिल स्ट्रक्चर रहने छ । टावरको उचाइ ७८ मिटर रहने छ भने टावर निर्माणका लागि स्थानीय जग्गा २८ वर्षका लागि लिजमा लिएको कम्पनीले जनाएको छ। लिफ्ट चढेर आकासिदै माथि जाने उक्त टावर जमिन सतहदेखि सिधै ६८ मिटरमा माथि पुगेर लिफ्ट रोकिन्छ। जहाँ काँचको हिँड्ने बाटो बनेको हुन्छ । र, वाल्किङ क्षेत्र भन्दा तल्लो तहमा केही कोठाहरु र मिटिङ हल आदि निर्माण हुने छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सन कम्पनीले पाएको छ । जुन टावरमा ११ जना लगानीकर्ता रहेका छन्।

आकासे टावर भएर पनि आकासीय तहमा काँचमाथि हिँड्ने कुरालाई ‘फ्युजन’ गरिएको यसखाले टावर भने चीन पछि नेपालमै बन्ने भएको आयोजकको दाबी छ । पर्यटक आकर्षण केन्द्र बनाउने सोच अघि सारेको कम्पनीले सञ्चालनमा आएको ४ वर्षमा लगानी उठाउने लक्ष्य राखेको छ । यसको निर्माण वन्डरर्स नेपाल प्रालिले निर्माण गर्न लागेको हो ।

जियोटेक्निकल पाटो र आकासिय सुरक्षा

‘स्काइवाक’ टावरको जग निर्माणका लागि आवश्यक माटो परीक्षण सहित उक्त परियोजना अघि बढाइएको आयोजकले बताएको छ । यसको गहिराइमा ५० मिटरसम्मको माटो लिएर ल्याब परीक्षण गरिएको जियोटेक इन्जिनियर उदयराज न्यौपानेको भनाइ छ ।

नेपालमा गोरखा भूकम्प पछिका दिनमा माटोकै कारणले गौरवका आयोजना समेत प्रभावित भइरहेका छन् । पछिल्ला दिनमा नेपालमा पनि नहर, पुल, भवन जस्ता विभिन्न संरचना निर्माण कार्यमा अनिवार्य रुपमा माटो परीक्षण गर्ने कुरा जनस्तरमा पनि चासो बढ्दो छ ।

जियोटेक इन्जिनियर न्यौपानेका अनुसार दक्षिण एसियामै पहिलो बन्दै गरेको उक्त ‘स्काइवाक’ टावर निर्माण पूर्व यसको माटो परीक्षणलाई विशेष ख्याल गरिएको छ ताकि भविष्यमा टावरसँग जोडिएर कुनै पनि माटोजन्य समस्या आउने छैन । यसर्थ सुरक्षाका हिसाबले टावर बलियो र गुणस्तरीय रहने छ ।